कास्कीमा २२ वर्षीय युवक मृत फेला, हत्याको आशंकामा ६ जना नियन्त्रणमा

कास्कीमा २२ वर्षीय युवक मृत फेला, हत्याको आशंकामा ६ जना नियन्त्रणमा

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका-७ धम्पुसस्थित घिप्लेमा २२ वर्षीय युवक मृत फेला परेका छन्। घरबाट पूर्वतर्फ रहेको बारीमा राजेन्द्र पौडेल मृत अवस्थामा फेला परेपछि प्रहरीले घटनालाई सम्भावित हत्याका रूपमा अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार घटनाको अनुसन्धानका क्रममा माछापुच्छ्रे गाउँपालिका-७ का विक्रम पुन, आशिष गुरुङ, महादेव विक, मिलन विक, ललित पुन र माछापुच्छ्रे गाउँपालिका-५ रिभानका विष्णुप्रसाद गुरुङ गरी ६ जनालाई नियन्त्रणमा लिइएको छ।

प्रारम्भिक अनुसन्धानमा मृतक पौडेल र केही व्यक्तिबीच मदिरा सेवनका क्रममा विवाद भएको तथा हात हालाहालसमेत भएको हुन सक्ने देखिएको प्रहरीले जनाएको छ। उनीहरू त्यसपछि घरतर्फ गएको र पछि पुनः घटनास्थलमा पुगेर हत्या गरेको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ। यद्यपि, घटनाको वास्तविक कारण र संलग्नताबारे पुष्टि हुन बाँकी छ।

घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी चौकी धम्पुसबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीको कमान्डमा अनुसन्धान टोली तथा वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षकको टोली खटिएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छठ मनाउन कांग्रेस सभापति गगन थापा सर्लाहीमा
10 घण्टा अगाडि

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन आइतबार सर्लाही पुगेका छन्। उनी सिमरा विमानस्थल ...

छुटाउनुभयो कि ?

TOP