दशैंमा अन्नपूर्ण पदमार्गमा पर्यटकको घुइँचो, ५ हजारभन्दा बढी विदेशी पुगे

दशैंमा अन्नपूर्ण पदमार्गमा पर्यटकको घुइँचो, ५ हजारभन्दा बढी विदेशी पुगे

लमजुङ । यस वर्षको दशैं अवधिमा अन्नपूर्ण चक्रीय पदमार्गमा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ। असोज २५ देखि कात्तिक ८ गतेसम्म ५ हजार ३८४ विदेशी पर्यटकले यस पदमार्गमा भ्रमण गरेका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङका अनुसार गत वर्षको सोही अवधिमा २ हजार ७५७ पर्यटक आएका थिए। यस वर्ष गत वर्षको तुलनामा २ हजार ६२७ पर्यटक बढी आएका हुन्।

गुरुङका अनुसार मनास्लु पदमार्गमा बाढीपहिरोका कारण आवागमन प्रभावित भएपछि त्यहाँ जाने केही पर्यटक अन्नपूर्ण पदमार्गतर्फ आएका छन्। अनुकूल मौसम र घुमफिर गर्ने प्रवृत्ति बढ्दै जानुले पनि पर्यटक आगमनमा वृद्धि भएको उनको भनाइ छ।

एक्यापको तथ्याङ्कअनुसार दशैं अवधिमा अन्नपूर्ण पदमार्गमा आएका पर्यटकमध्ये ३ हजार २८८ पुरुष, २ हजार ९४ महिला र अन्य दुई जना छन्। तीमध्ये सार्क राष्ट्रबाट ६०९ र गैरसार्क राष्ट्रबाट ४ हजार ७७५ पर्यटक आएका छन्।

देशगत रूपमा सबैभन्दा बढी भारतबाट ६०६ पर्यटक आएका छन्। त्यस्तै, जर्मनीबाट ४३८, इजरायलबाट ४१८, फ्रान्सबाट ३६४ र अमेरिकाबाट ३५२ पर्यटकले पदयात्रा गरेका छन्।

लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण चक्रीय पदमार्ग मनाङ हुँदै थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङसम्म पुग्छ। हिमाली दृश्य, प्राकृतिक सौन्दर्य, परम्परागत बस्ती र स्थानीय संस्कृतिको अवलोकन गर्न पाइने भएकाले यो पदमार्ग विदेशी पर्यटकमाझ लोकप्रिय मानिन्छ।

यस वर्ष दशैं अवधिमा पर्यटक आगमन बढेसँगै अन्नपूर्ण क्षेत्रको पर्यटन गतिविधिमा उत्साह थपिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP