समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न बागमतीले खोज्यो दुई सदस्य

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न बागमतीले खोज्यो दुई सदस्य

हेटौँडा । समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया प्रभावकारी बनाउन बागमती प्रदेश सरकारले व्यवस्थापन समितिका दुई रिक्त सदस्य पदमा नियुक्तिको प्रक्रिया अघि बढाएको छ।

प्रदेशको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले दुई सदस्य नियुक्तिका लागि योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो। यसअघि गत असोज १२ गते आवेदन माग गरिए पनि पर्याप्त निवेदन नपरेपछि पुनः दरखास्त खुलाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले प्रशासनिक क्षेत्रबाट एक जना र बैंकिङ तथा वित्तीय वा लेखा क्षेत्रबाट एक जना सदस्य नियुक्त गर्ने तयारी गरेको छ। प्रशासनिक पदका लागि कम्तीमा उपसचिव वा सोसरहको पदमा काम गरेको अनुभव आवश्यक छ। वित्तीय क्षेत्रका लागि बैंक तथा वित्तीय संस्थाको कम्तीमा आठौँ तहमा काम गरेको वा तोकिएको अनुभवसहित चार्टर्ड एकाउन्टेन्ट (सीए) भएको हुनुपर्नेछ।

इच्छुक उम्मेदवारले समस्याग्रस्त सहकारीको सम्पत्ति तथा दायित्व व्यवस्थापन, ऋण असुली र बचतकर्ताको रकम फिर्ता गर्ने उपायसहित बढीमा दुई हजार शब्दको कार्ययोजना पेस गर्नुपर्नेछ। समितिमा पूर्णकालीन रूपमा काम गर्न सक्ने र सम्बन्धित सहकारीसँग स्वार्थ नबाझिने स्वघोषणा पनि आवश्यक छ।

प्राप्त आवेदनलाई अनुभव, कार्ययोजना र अन्तर्वार्ताका आधारमा कुल ४० अंकमा मूल्यांकन गरिनेछ। मूल्यांकनपछि सिफारिस गरिएका उम्मेदवारमध्येबाट प्रदेश मन्त्रिपरिषद्ले अन्तिम नियुक्ति गर्नेछ।

बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीको व्यवस्थापन र बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियालाई तीव्रता दिन समितिमा यसअघि पनि पदाधिकारी नियुक्त गरेको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP