मकवानपुरमा भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह

मकवानपुरमा भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह

हेटौँडा । बङ्गालको खाडीमा विकसित 'अर्णव' चक्रवातका कारण भारी वर्षा हुन सक्ने सम्भावना रहेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिनअनुसार कात्तिक ११ देखि १४ गतेसम्म मकवानपुरसहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलद्वारा जारी सूचनामा भारी वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बाढी, कटान, डुबान र पहिरोको जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन अनुरोध गरिएको छ ।

प्रशासनले पाकेको धानबाली तथा अन्य कृषिउपज सुरक्षित रूपमा भित्र्याउन, वर्षाका बेला बाली नकाट्न र नदी तथा खोला नतर्न आग्रह गरेको छ । माछा मार्ने, दाउरा सङ्कलन गर्नेजस्ता जोखिमपूर्ण गतिविधि नगर्न पनि अनुरोध गरिएको छ ।

त्यस्तै, त्रिभुवन राजपथ, कान्ति लोकपथ, हेटौँडा–काठमाडौँ छोटो मार्गसहित ग्रामीण सडकमा पहिरोको जोखिम रहेकाले अत्यावश्यकबाहेक लामो दूरी तथा रात्रिकालीन यात्रा नगर्न प्रशासनले सुझाव दिएको छ । यात्रा गर्नैपरे सडकको अवस्था बुझेर मात्र निस्कन आग्रह गरिएको छ ।

प्रशासनले बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति र बिरामीलाई सुरक्षित स्थानमा राख्न तथा महत्त्वपूर्ण कागजात सुरक्षित गर्नसमेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP