जापानका लागि प्रस्तावित राजदूत थापाबारे समितिले पठाएका दुई पत्रको जवाफ आएन

जापानका लागि प्रस्तावित राजदूत थापाबारे समितिले पठाएका दुई पत्रको जवाफ आएन

काठमाडौं । जापानका लागि नेपाली राजदूतमा प्रस्तावित जिज्ञानकुमार थापाबारे उठेका प्रश्नको जवाफ नआएपछि संसदीय सुनुवाइ समितिको प्रक्रिया अघि बढ्न सकेको छैन । समितिले थापाको जापानको स्थायी बसोबास अनुमति (पीआर) र त्यहाँको स्थानीय सरकारसँगको आबद्धताबारे स्पष्ट पार्न पठाएका दुई पत्रको जवाफ अझै प्राप्त नभएको जनाएको छ ।

समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार थापाबारे सत्यतथ्य बुझ्न सुनुवाइअघि र सुनुवाइपछि गरी दुई पटक पत्राचार गरिएको हो । पहिलो पत्रमा जापानको पीआरसम्बन्धी विषय र दोस्रोमा जापानको स्थानीय सरकारसँगको आबद्धताबारे जानकारी मागिएको उनले बताए ।

थापाविरुद्ध सुनुवाइअघि प्राप्त उजुरीमा उनीसँग जापानको पीआर रहेको र त्यहाँको स्थानीय सरकारमा काम गरिरहेको दाबी गरिएको थियो । असोज २८ गते भएको सुनुवाइका क्रममा थापाले आफूले पहिले पीआर लिएको भए पनि अहिले त्यागिसकेको र जापानको स्थानीय तहमा आबद्ध नरहेको बताएका थिए ।

तर, उनको भनाइबारे आधिकारिक निकायबाट पुष्टि हुन बाँकी रहेकाले समितिले थप जानकारी मागेको हो । समितिका उपसचिव जगदीश न्यौपानेले परराष्ट्र मन्त्रालयमा पठाइएको पत्रको जवाफ अझै नआएको र त्यसका लागि फलोअप भइरहेको जानकारी दिए ।

समितिका अनुसार परराष्ट्र मन्त्रालयले नेपालस्थित जापानी राजदूतावासमार्फत सम्बन्धित विषयको जानकारी संकलन गरी जवाफ पठाउने प्रक्रिया छ । जवाफ प्राप्त भएपछि मात्रै समितिमा थप छलफल गरी सुनुवाइसम्बन्धी निर्णय गरिने सभापति श्रेष्ठले बताएका छन् ।

पत्रको जवाफ नआएकै कारण प्रस्तावित राजदूत थापाको सुनुवाइको अर्को मिति तय हुन सकेको छैन ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP