चक्रवातको जोखिमः मोरङमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

चक्रवातको जोखिमः मोरङमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

विराटनगर । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुन सक्ने र त्यसको प्रभावले नेपालमा भारी वर्षा हुन सक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रशासनले सोमबार सूचना जारी गर्दै कात्तिक ११ देखि १५ गतेसम्म मौसम प्रभावित हुन सक्ने भन्दै सम्भावित विपद्बाट जोगिन पूर्वतयारी अवस्थामा रहन अनुरोध गरेको हो। सम्भावित वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव र डुबानको जोखिम बढ्न सक्ने प्रशासनले जनाएको छ। सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

नदी तथा खोला किनार, पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुन सक्ने स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन प्रशासनले अनुरोध गरेको छ। जोखिमको संकेत देखिएमा तत्काल सुरक्षित स्थानमा जान, अति आवश्यक कामबाहेक लामो दूरी तथा रातको समयमा यात्रा नगर्न र यात्राअघि सडक तथा मौसमको अवस्था बुझ्न भनिएको छ।

धानलगायत अन्नबाली भित्र्याउने तयारीमा रहेका किसानलाई मौसम अनुकूल नभएसम्म कटानीको योजना नबनाउन र काटिसकेको बाली सुरक्षित स्थानमा राख्न आग्रह गरिएको छ। साथै, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपांगता भएका व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन र पशुचौपाया, खाद्यान्न, औषधि तथा महत्त्वपूर्ण कागजात सुरक्षित राख्न प्रशासनले अनुरोध गरेको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई आवश्यक पूर्वतयारीमा रहन र जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्।

प्रशासनले बाढी तथा वर्षासम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीका लागि १०० र सशस्त्र प्रहरी बलका लागि १११४ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ। सर्वसाधारणलाई मौसमसम्बन्धी आधिकारिक सूचना तथा चेतावनी नियमित रूपमा हेर्न र सम्बन्धित निकायको निर्देशन पालना गर्न पनि आग्रह गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP