चक्रवात ‘अर्नब’को खतरा, नेपालमा सुरक्षा निकाय हाई अलर्टमा

चक्रवात ‘अर्नब’को खतरा, नेपालमा सुरक्षा निकाय हाई अलर्टमा

काठमाडौ ।बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै नेपालमा उच्च सतर्कता अपनाइएको छ। हिमालदेखि तराईसम्म असर पर्न सक्ने सम्भावना रहेपछि सरकारले सम्बन्धित निकाय र सुरक्षा अंगलाई हाई अलर्टमा राखेको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बिहीबारदेखि शनिबारसम्म उच्च सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी अवस्थामा रहन सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी दिएका छन्।

भारतको मौसम विभागका अनुसार चक्रवात ‘अर्नब’ बुधबार बिहानसम्म आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान छ। चक्रवातका कारण प्रतिघण्टा ११५ देखि १२५ किलोमिटरको गतिमा हावा चल्न सक्ने र यसको गति बढेर १४० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने अनुमान गरिएको छ।

चक्रवातको सम्भावित जोखिमलाई ध्यानमा राख्दै भारतका विभिन्न क्षेत्रमा पनि उच्च सतर्कता अपनाइएको छ। दक्षिण तटीय रेलवेले अक्टोबर २७ र २८ मा सञ्चालन हुने ५३ वटा रेल सेवा रद्द गरेको छ। विशाखापटनम र विजयवाडा आउने–जाने उडान प्रभावित हुन सक्ने भन्दै एयर इन्डियाले यात्रुलाई उडानको अवस्था जाँच गरेर मात्रै विमानस्थल जान आग्रह गरेको छ।

प्रभावित क्षेत्रमा विद्यालय बन्द गरिएको छ भने बालबालिका, ज्येष्ठ नागरिकलगायतलाई सुरक्षित स्थानमा राख्न र आवश्यक खाद्यान्नको व्यवस्था गर्न भनिएको छ। नेपालमा पनि सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP