पानी पर्ने पूर्वानुमानपछि बाँकेका किसानलाई धान भित्र्याउने चटार

पानी पर्ने पूर्वानुमानपछि बाँकेका किसानलाई धान भित्र्याउने चटार

बाँके । मौसम पूर्वानुमान महाशाखाले वर्षा हुने प्रक्षेपण गरेपछि बाँकेका किसानलाई पाकेको धान भित्र्याउन भ्याइनभ्याई भएको छ। वर्षभरि खाने अन्न पानीले बिगार्ने चिन्ताले किसान दसैँको चहलपहलबीच पनि खेतमै व्यस्त छन्।

धान काटिसकेका किसानलाई भिज्ने डर छ भने काट्न बाँकी रहेकालाई हुरीबतास र वर्षाले बाली ढाल्ने चिन्ता छ। लामो समयसम्म भिजे धान बिग्रने जोखिम भएकाले बिहानदेखि रातिसम्म खेतमै खटिनुपरेको नेपालगन्ज उपमहानगरपालिका-१९ सुईयागाउँका किसान ध्रुवकुमार थापा क्षेत्रीले बताए।

विगतमा असोज र कात्तिकमा आएको बेमौसमी बाढी तथा वर्षाले धानबालीमा क्षति पुर्‍याएको अनुभवले यसपटक किसानलाई थप सतर्क बनाएको छ। वर्षाको सूचना पाएपछि पाकेको धान समयमै भित्र्याउन लागिपरेको क्षेत्रीको भनाइ छ।

दसैँका कारण खेतमा काम गर्ने मजदुर पाउन कठिन हुनुका साथै थ्रेसर र ट्र्याक्टरजस्ता उपकरणको व्यवस्थापनमा पनि समस्या भइरहेको छ। हतारमा काटिएको धान सुकाउन र सुरक्षित रूपमा भण्डारण गर्नसमेत किसानलाई चुनौती थपिएको छ।

खजुराका अगुवा किसान कृष्णविक्रम केसीका अनुसार यस वर्ष दसैँ ढिला परेकाले चाडपर्व र धान भित्र्याउने समय एकैपटक जुधेको छ। धान राम्रो उत्पादन भए पनि समयमै घर भित्र्याउन नसके वर्षा र असिनाले क्षति पुर्‍याउने जोखिम रहेको उनले बताए।

कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले पनि वर्षाको सम्भावनाका कारण किसानले धमाधम धान भित्र्याइरहेको जानकारी दिइन्।

उनका अनुसार बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान रोपाइँ हुने गरेको छ। यस वर्ष भने ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP