चर्चामा
दाङ । दूध उत्पादन राम्रो भए पनि बजारसम्म पुर्याएर बिक्री गर्नुपर्ने बाध्यतामा रहेका दाङका पशुपालक किसानलाई अहिले गाउँमै दूध बिक्री गर्ने सुविधा मिलेको छ। घोराही उपमहानगरपालिका-२ रामपुरस्थित साना किसान कृषि सहकारी संस्थाले दूध सङ्कलन तथा बिक्रीको व्यवस्था गरेपछि किसानलाई सहज भएको हो।
घोराही उपमहानगरपालिका-१ सुकाखोलाका बमबहादुर थापाले दैनिक ९५ लिटर दूध उत्पादन गर्छन्। यसअघि दूध बेच्न घोराही बजार पुग्नुपर्ने उनलाई अहिले घरनजिकै रहेको सहकारीमार्फत दूध बिक्री गर्न सजिलो भएको छ।
२०७७ सालदेखि 'सुकाली गाई फार्म' सञ्चालन गर्दै आएका ४२ वर्षीय थापाको फार्ममा साना-ठूला गरी २१ वटा गाई छन्। उनले मासिक करिब एक लाख ८० हजारदेखि दुई लाख रुपैयाँसम्मको दूध बिक्री गर्दै आएको बताए। दूध बिक्रीमा सहज हुँदा समय र खर्चसमेत बचत भएको उनको भनाइ छ।
सहकारीले गत कात्तिक १ गतेदेखि दूध सङ्कलन तथा बिक्रीको व्यवस्था सुरु गरेको हो। यसबाट सहकारीका सदस्यसँगै घोराहीका वडा नं १, २ र ४ का पशुपालक किसान लाभान्वित भएका छन्।
संस्थाका अध्यक्ष गुरुप्रसाद खनालका अनुसार सहकारीले दैनिक ७५० लिटरभन्दा बढी दूध सङ्कलन गर्दै आएको छ। किसानबाट प्रतिलिटर भैँसीको दूध ८० रुपैयाँ र गाईको दूध ७० रुपैयाँमा खरिद गरी क्रमशः ८५ र ७५ रुपैयाँमा थोक बिक्री गर्ने गरिएको उनले बताए।
यसअघि किसानले भैँसीको दूध प्रतिलिटर ७५ रुपैयाँ र गाईको दूध ६३ रुपैयाँमा बिक्री गर्दै आएका थिए। सङ्कलित दूध सहकारीमा आबद्ध सदस्यले सञ्चालन गरेका डेरी तथा अन्य डेरीमा बिक्री गरिन्छ।
चैतदेखि तिहारसम्म डेरीले सहज रूपमा दूध सङ्कलन गरे पनि त्यसपछि बिक्रीमा समस्या हुने भएकाले सहकारीले यो व्यवस्था सुरु गरेको अध्यक्ष खनालले बताए। भविष्यमा आफ्नै डेरी सञ्चालन गर्ने र दूधको गुणस्तर परीक्षणका आधारमा किसानलाई उचित मूल्य उपलब्ध गराउने योजना रहेको उनले जानकारी दिए।
हाल सहकारीमा एक हजार ३०० सदस्य आबद्ध छन्। तीमध्ये ४०० सदस्यले सहकारीमार्फत दूध बिक्री गर्दै आएका छन्। गाउँमै दूध सङ्कलन हुन थालेपछि बजारसम्म दूध पुर्याउनुपर्ने बाध्यता हट्नुका साथै किसानको समय र ढुवानी खर्च बचत भएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!