भारी वर्षाको सम्भावनापछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा राखियो

भारी वर्षाको सम्भावनापछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा राखियो

काठमाडौं । सम्भावित भारी वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भन्दै सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा राखेको छ। विपद्का बेला प्रभावित नागरिकलाई तत्काल उपचार उपलब्ध गराउन सातै प्रदेशका स्वास्थ्य निकायलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

नेपाल मौसम विज्ञान विभागले कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमदेखि भारी वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरेपछि स्वास्थ्य क्षेत्रलाई सतर्क रहन आग्रह गरिएको हो।

स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई पत्राचार गर्दै स्वास्थ्य सेवा र विपद् प्रतिकार्यको तयारी चुस्त राख्न निर्देशन दिएको छ।

इकाइ प्रमुख डा. हेमन्त चन्द्र ओझाले पठाएको पत्रमा प्रत्येक प्रदेशमा चौबिसै घण्टा सम्पर्कमा रहने एक जना आपतकालीन सम्पर्क व्यक्ति तोक्न तथा उनको सम्पर्क विवरण उपलब्ध गराउन भनिएको छ।

त्यसैगरी, हब तथा स्याटेलाइट अस्पतालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय टोली (ईएमटी) र आवश्यक स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न आग्रह गरिएको छ। औषधि, स्वास्थ्य सामग्री, उपकरण, एम्बुलेन्स तथा अन्य स्रोतसाधनको विवरणसमेत अद्यावधिक गर्न निर्देशन दिइएको छ।

विपद्का बेला घाइते तथा प्रभावितलाई समयमै उपचार उपलब्ध गराउन एम्बुलेन्स प्रेषण केन्द्रसँग निरन्तर समन्वय गरी एम्बुलेन्स सेवा शीघ्र र प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने पत्रमा उल्लेख छ।

इकाइले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित घटना तथा अवस्थाको विवरण दैनिक रूपमा 'जिरो रिपोर्टिङ' वा 'इन्सिडेन्ट रिपोर्टिङ' प्रणालीमार्फत अनिवार्य रूपमा पठाउन पनि प्रदेशका स्वास्थ्य आपतकालीन केन्द्रहरूलाई आग्रह गरेको छ।

वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने विपद्को जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य सेवा, जनशक्ति र आवश्यक सामग्रीको तयारीलाई प्राथमिकता दिइएको हो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP