चर्चामा
तेह्रथुम । कुनै समय गाउँलेहरू पर्म खेलेर पालैपालो कोदो रोप्ने तेह्रथुमका खेतबारीमा अहिले श्रमिक अभाव बढ्दै गएको छ। युवा जनशक्ति रोजगारी र शिक्षाका लागि गाउँबाहिर जान थालेपछि परम्परागत कोदो खेती घट्दै गएको छ भने किसान नगदेबालीतर्फ आकर्षित हुन थालेका छन्।
छथर गाउँपालिका-२ फयाकका किसान टंकबहादुर कार्कीका अनुसार पहिले असारदेखि भदौको पहिलो सातासम्म कोदो रोप्न खेतला र पर्म गर्ने मानिस सहजै पाइन्थे। अहिले भने खेतीका लागि श्रमिक पाउन कठिन भएको छ र एकअर्कालाई सघाउने पुरानो चलनसमेत हराउँदै गएको छ।
अग्रबहादुर कार्कीका अनुसार कोदो खेतीमा धेरै श्रम र मिहिनेत लाग्ने भएकाले किसानले अलैँची, अदुवा, अम्लिसो र तरकारीजस्ता नगदेबालीलाई प्राथमिकता दिन थालेका छन्। दैनिक खर्च, शिक्षा र स्वास्थ्य उपचारका लागि नगद आम्दानी आवश्यक हुँदा किसानको प्राथमिकता परिवर्तन भएको उनको भनाइ छ।
तर, कोदो खेती घट्दै गए पनि यसबाट बन्ने परिकारको बजार विस्तार गर्ने सम्भावना देखिएको छ। कोदोबाट ढिँडो र रोटीका साथै बिस्कुट, केक तथा मःमः जस्ता परिकार बनाउन सकिन्छ।
धनकुटाको नुनथला भिलेज एन्ड रिसोर्टमा आउने पर्यटकले कोदोको ढिँडो, मःमः र बिस्कुट रुचाउने गरेको सञ्चालक लोकेन्द्र कार्की बताउँछन्। उनका अनुसार पर्यटकले कोदोका परिकार खाने मात्र होइन, बिस्कुट कोशेलीका रूपमा समेत लैजाने गरेका छन्।
कोदोबाट बनेका परिकारलाई बजारसँग जोड्न सके किसानका लागि आम्दानीको नयाँ अवसर सिर्जना हुन सक्छ। त्यसका लागि उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिन आवश्यक छ। गाउँमा श्रमिक अभाव र खेतीप्रतिको घट्दो आकर्षण चुनौती बनिरहेका बेला कोदोका नयाँ परिकारले यसको व्यावसायिक सम्भावना बढाउन सक्ने देखिएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन आइतबार सर्लाही पुगेका छन्। उनी सिमरा विमानस्थल ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!