अब आफ्नो जिल्ला बाहिरबाटै नागरिकताको प्रतिलिपि लिन सकिने

अब आफ्नो जिल्ला बाहिरबाटै नागरिकताको प्रतिलिपि लिन सकिने

काठमाडौं । नागरिकताको प्रमाणपत्र हराएमा, झुत्रो भएमा वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने भए अब आफ्नो जिल्ला पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले तोकेका जिल्ला प्रशासन कार्यालयबाट अन्य जिल्लाका नागरिकले पनि नागरिकताको प्रतिलिपि लिन सक्ने व्यवस्था गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारी गर्दै नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार यस्तो सेवा उपलब्ध हुने जनाएको हो।

गृह मन्त्रालयको परिपत्रअनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयलाई प्रदेशअनुसार सेवा प्रवाहको जिम्मेवारी दिइएको छ। जसअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकले सेवा लिन सक्नेछन्।

त्यस्तै, ललितपुर जिल्ला प्रशासन कार्यालयबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट कोशी र मधेस प्रदेशका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्नेछन्।

प्रतिलिपिका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ। नागरिकताको विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मा रहेको अभिलेखसँग मेल खाएमा प्रतिलिपि जारी गरिनेछ।

तर, अभिलेख नभेटिएमा, नाम, थर, ठेगाना वा जन्ममितिलगायतका विवरण फरक परेमा वा नागरिकताको प्रमाणपत्र शङ्कास्पद देखिएमा भने नागरिकता जारी भएको साविककै जिल्लामा सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP