कांग्रेसका जिल्ला र प्रदेश अधिवेशन मङ्सिरभित्रै सक्ने तयारी

कांग्रेसका जिल्ला र प्रदेश अधिवेशन मङ्सिरभित्रै सक्ने तयारी

काठमाडौँ । नेपाली कांग्रेसले बाँकी रहेका जिल्ला र प्रदेश अधिवेशन मङ्सिर मसान्तभित्र सम्पन्न गर्ने तयारी गरेको छ। अधिवेशनको मिति भने नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले तय गर्ने भएको छ।

नवनिर्वाचित महामन्त्री उदयशमशेर राणाका अनुसार अधिवेशनको मिति छठलगत्तै वा मङ्सिरको अन्तिमतिर तय हुन सक्छ। केन्द्रीय कार्यसमितिको बैठकबाट यसबारे औपचारिक निर्णय गरिने उनले जानकारी दिए।

कांग्रेसले गत असोज १८ देखि २३ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गरे पनि समय अभावका कारण जिल्ला र प्रदेश अधिवेशन पछि गर्ने निर्णय गरेको थियो। त्यसबेला वडा, पालिका, प्रदेश सभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रका अधिवेशन सम्पन्न गरी केन्द्रीय महाधिवेशन गरिएको थियो।

हालसम्म एउटा मात्र निर्वाचन क्षेत्र भएका ३५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी ४२ जिल्लामा अधिवेशन हुन बाँकी छ। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले पनि बाँकी अधिवेशनको मिति नवनिर्वाचित केन्द्रीय समितिले तय गर्ने र प्रक्रिया मङ्सिरभन्दा पर नजाने बताएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP