ट्यांकी छ, घरघरमा धारा छ, तर पानी देख्नै मुस्किल

ट्यांकी छ, घरघरमा धारा छ, तर पानी देख्नै मुस्किल

सिन्धुपाल्चोक । खानेपानीको ट्यांकी बनेको छ, पाइप बिछ्याइएको छ र घरघरमा धारा पनि जडान गरिएका छन्। तर धाराबाट नियमित पानी नआउँदा सुनकोशी गाउँपालिका-३ का स्थानीयवासी अझै खानेपानीको समस्या भोग्न बाध्य छन्।

ताम्लिङ, साधनबोट, मैनापुर र सिम्पानीका करिब ६० घरपरिवारले यस्तो समस्या भोगिरहेका छन्। करिब चार वर्षअघि निर्माण गरिएको खानेपानी संरचनाले सहज जीवनको आशा जगाए पनि त्यसको प्रभावकारी सञ्चालन नहुँदा स्थानीयको सास्ती हट्न सकेको छैन।

यस आयोजनाको मुहान सुनकोशी गाउँपालिका-४ स्थित तारेभीरमा छ भने पानी सङ्कलन गर्ने ट्यांकी वडा नम्बर ३ को ताम्लिङ थुम्कीमा बनाइएको छ। गाउँपालिकाले बजेट तथा पाइप उपलब्ध गराएको र स्थानीयवासीले श्रमदान गरेर संरचना निर्माणमा साथ दिएका थिए। तर घरमा धारा जडान भए पनि नियमित पानी पाउने अवस्था छैन।

स्थानीयका अनुसार पानी सञ्चालन गर्न पाइप जोड्ने स्थानसम्म पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ। पाइप जोडेर पानी ल्याए पनि नियमित आपूर्ति नहुने र पाइपलाइनमा समस्या आए आफैँले समाधान गर्नुपर्ने अवस्था छ। यसले विशेषगरी वृद्धवृद्धा मात्रै रहेका परिवारलाई थप कठिनाइ भएको छ।

स्थानीय कल्याणकुमार खुलालका अनुसार गाउँपालिकाले करिब एक वर्षअघि घरघरमा धारा जडान गर्न आवश्यक सामग्री उपलब्ध गराएको थियो। त्यसपछि स्थानीयले श्रम गरेर धारा जडान गरे पनि पानी वितरण प्रणाली नियमित हुन सकेको छैन।

स्थानीय भुवन ठकुरीले पानी सञ्चालन गर्न पाइप जोड्ने काम नियमित गर्ने व्यक्ति नहुँदा समस्या भएको बताएका छन्। कहिलेकाहीँ पानी सञ्चालन भए पनि केही समयपछि बन्द हुने गरेको उनको गुनासो छ।

स्थानीयवासीले निर्माण भइसकेको संरचनाबाट नियमित पानी उपलब्ध गराउन र सञ्चालनको जिम्मेवारी स्पष्ट पार्न सम्बन्धित निकायसँग माग गरेका छन्।

यसैबीच, गाउँपालिका अध्यक्ष मीना दाहालले उक्त क्षेत्रमा धारामा पानी नआएको विषयमा आफूलाई जानकारी नभएको बताएकी छन्। प्रतिनिधिसभा सदस्य आशिष गजुरेलले पनि स्थानीयको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

'एक घर, एक धारा' को लक्ष्य पूरा गर्न धारा जडान गर्नु मात्रै पर्याप्त हुँदैन। निर्माण भएका संरचनाबाट नियमित खानेपानी उपलब्ध गराउने र समस्या आए तत्काल समाधान गर्ने व्यवस्था मिलाउन आवश्यक देखिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP