नक्कली डीपीआर बनाएर ३९ लाख हिनामिना, अख्तियारद्वारा मुद्दा

नक्कली डीपीआर बनाएर ३९ लाख हिनामिना, अख्तियारद्वारा मुद्दा

काठमाडौ ।मुगुमा खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका नाममा नक्कली कागजात तयार गरी ३९ लाख ४० हजार रुपैयाँभन्दा बढी सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमाल, तत्कालीन लेखापाल रुनबहादुर सेजुवाल र एलाइड इन्जिनियरिङ प्रालिका प्रबन्ध निर्देशक चन्द्रबहादुर बुढाविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा मुगुका विभिन्न १३ वटा खानेपानी योजनाको डीपीआर निर्माणका लागि परामर्श सेवा खरिद गर्दा प्रचलित खरिद कानुनविपरीत प्याकेजिङ गरिएको थियो। त्यसपछि नक्कली मूल्याङ्कन समिति र निर्णय तयार गरी झुट्टा कागजात तथा हस्ताक्षरसहित मूल्याङ्कन प्रतिवेदन बनाइएको अनुसन्धानबाट खुलेको छ।

सोही नक्कली प्रतिवेदनका आधारमा झुट्टा बिल भरपाई तयार गरी ३९ लाख ४० हजार ३०९ रुपैयाँ सरकारी भुक्तानी लिने र दिने काम भएको अख्तियारको ठहर छ। यसबाट प्रदेश सरकार र नेपाल सरकारलाई प्रत्यक्ष आर्थिक नोक्सानी पुगेको आयोगले जनाएको छ।

अख्तियारले तीनै जनाविरुद्ध बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, बिगोबमोजिम जरिवाना र बिगो असुलउपरको मागदाबी गरेको छ। परामर्शदाता कम्पनीलाई समेत कानुनबमोजिम सजाय गर्न माग गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP