नेपाल–भारत सीमा सुरक्षा मजबुत बनाउन १०औँ द्विपक्षीय बैठक सुरु

नेपाल–भारत सीमा सुरक्षा मजबुत बनाउन १०औँ द्विपक्षीय बैठक सुरु

काठमाडौं । नेपाल र भारतबीच सीमा सुरक्षा तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले १०औँ द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु भएको छ ।

कार्तिक ११ देखि १३ गतेसम्म सञ्चालन हुने बैठकमा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण तथा दुवै देशका सीमावर्ती सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल भइरहेको छ ।

नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतका तर्फबाट सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक सञ्जय सिंघलले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् ।

बैठकमा दशगजा अतिक्रमण हटाउने, सीमा स्तम्भको संरक्षण तथा मर्मतसम्भार, मानव तस्करी, लागूऔषध र अवैध हातहतियारको ओसारपसार नियन्त्रणलगायतका विषयमा छलफल हुनेछ ।

त्यसैगरी खुला सीमानाको प्रयोग गरी तेस्रो मुलुकका नागरिकबाट हुनसक्ने अवैध आवागमन नियन्त्रण, सीमा क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग, विपद् व्यवस्थापनमा संयुक्त सहकार्य तथा सीमा नाकामा यात्रु सहायता कक्ष स्थापना गर्ने विषयलाई समेत प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP