भारतको आन्ध्र प्रदेशमा चक्रवात अर्नबको प्रवेश, ओडिसासहितका राज्यमा भारी वर्षाको चेतावनी

भारतको आन्ध्र प्रदेशमा चक्रवात अर्नबको प्रवेश, ओडिसासहितका राज्यमा भारी वर्षाको चेतावनी

काठमाडौ | पछिल्लो उपलब्ध विवरण भारतको बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’ आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको छ। भारतीय मौसम विभागका अनुसार बुधबार बिहान २ बजेदेखि ८ बजेसम्म बापटला र विशाखापट्टनमबीचको तटीय क्षेत्रबाट चक्रवातले जमिनमा प्रवेश पूरा गरेको हो।

चक्रवात प्रवेश गर्दा हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटर पुगेको थियो भने झोक्कासहित गति १५० किलोमिटरसम्म पुगेको थियो। जमिनमा प्रवेश गरेपछि यसको शक्ति केही कमजोर बनेर शक्तिशाली चक्रवाती आँधीमा परिणत भएको छ। 

चक्रवातको प्रभावले आन्ध्र प्रदेशका तटीय जिल्लामा भारी वर्षा, तीव्र हावाहुरी र विद्युत् आपूर्तिमा अवरोध देखिएको छ। जोखिमयुक्त क्षेत्रबाट कम्तीमा ८९ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। प्रभावित क्षेत्रमा दुई हजारभन्दा बढी आश्रयस्थल सञ्चालनमा ल्याइएको छ। 

ओडिसा, तेलंगाना, छत्तीसगढ, झारखण्ड, बिहार, विदर्भ, असम र मेघालयलगायतका क्षेत्रमा पनि भारीदेखि अति भारी वर्षा, चट्याङ र हावाहुरीको चेतावनी जारी गरिएको छ। ओडिसाका दक्षिणी जिल्लाहरूमा विशेष सतर्कता अपनाइएको छ।

भारतीय मौसम विभागले चक्रवात उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै आगामी ४८ घण्टामा क्रमशः कमजोर हुने अनुमान गरेको छ। समुद्री क्षेत्रमा माछा मार्न नजान र जोखिमयुक्त तटीय क्षेत्रमा सतर्क रहन पनि आग्रह गरिएको छ। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP