भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, ९ जनाको मृत्यु, ३ लाख ४५ हजार किसान प्रभावित

भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, ९ जनाको मृत्यु, ३ लाख ४५ हजार किसान प्रभावित

काठमाडौ ।भारतको पूर्वी तटीय क्षेत्रमा आएको शक्तिशाली चक्रवात ‘अर्नब’ले ठूलो जनधनको क्षति पुर्‍याएको छ। चक्रवातका कारण भारतको आन्ध्र प्रदेशमा मात्रै कम्तीमा ९ जनाको मृत्यु भएको छ भने हजारौँ घरपरिवार प्रभावित भएका छन्।

बंगालको खाडीमा विकसित भएको अति शक्तिशाली चक्रवात बुधबार बिहान आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको थियो। प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरको गतिमा आएको हावाको झोक्का १५० किलोमिटरसम्म पुगेको थियो।

चक्रवातका कारण सयौँ रुख तथा बिजुलीका पोल ढलेका छन् भने करिब १८० घरमा क्षति पुगेको छ। सडक, विद्युत् तथा सञ्चार पूर्वाधारसमेत प्रभावित भएका छन्। कतिपय क्षेत्रमा भारी वर्षाका कारण बाढी र डुबानको समस्या देखिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशका १४ जिल्लामा २ लाख २४ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा लगाइएको कृषि बालीमा क्षति पुगेको छ। यसबाट करिब ३ लाख ४५ हजार किसान प्रभावित भएका छन्।

चक्रवातको जोखिमलाई ध्यानमा राख्दै आन्ध्र प्रदेश र ओडिसाबाट एक लाख ८० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो। प्रभावित क्षेत्रमा उद्धार तथा राहत टोली परिचालन गरिएको छ। चक्रवातका कारण केही रेल तथा हवाई सेवा पनि प्रभावित भएका छन्।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले केन्द्र सरकारसँग प्रभावित क्षेत्रको क्षति मूल्याङ्कन र राहतका लागि सहयोग मागेका छन्।

चक्रवात जमिनमा प्रवेश गरेपछि क्रमशः कमजोर हुँदै गएको भारतीय मौसम विभागले जनाएको छ। यद्यपि प्रभावित क्षेत्रमा भारी वर्षा र बाढीको जोखिम कायमै रहेको छ।

यसैबीच, चक्रवात अर्नबको प्रभाव नेपालमा समेत पर्न सक्ने चेतावनीपछि उच्च हिमाली क्षेत्रमा पदयात्राका लागि अनुमति जारी गर्ने कार्य तीन दिनका लागि स्थगित गरिएको छ। हिमाली क्षेत्रमा भारी वर्षा, हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहेको भन्दै पर्यटकलाई सतर्क रहन आग्रह गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP