चर्चामा
ललितपुर । पदार्थ विज्ञानसम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन ‘काठमाडौं सिम्पोजिया अन एडभान्स्ड मटेरियल्स (कासाम–२०२६)’ आज दोस्रो दिन पनि जारी छ ।
ललितपुरको कुपण्डोलस्थित नेसनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीमा अक्टोबर २८ देखि सुरु भएको चारदिने सम्मेलन अक्टोबर ३१ सम्म सञ्चालन हुनेछ । नेपाल पोलिमर इन्स्टिच्युट, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पश्चिमाञ्चल क्याम्पस पोखरा र नेसनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीको संयुक्त आयोजनामा सम्मेलन भइरहेको हो ।
सम्मेलनमा नेपालसहित भारत, अमेरिका, जापान, रुस, जर्मनी र अस्ट्रेलियालगायतका देशका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू सहभागी छन् । सम्मेलनमा स्वदेश तथा विदेशका वैज्ञानिकहरूले कुल १४३ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्दैछन् ।
सम्मेलनमा न्यानो तथा जैविक प्रविधि, हरित ऊर्जा, आधुनिक ऊर्जा भण्डारण प्रणाली, सिमुलेसन र जैविक पदार्थका क्षेत्रमा भएका नवीन अनुसन्धान तथा उपलब्धिबारे छलफल भइरहेको छ ।
त्यस्तै, युवा वैज्ञानिकहरूको भूमिका, दिगो सहर निर्माणका प्रविधि र बाँसजस्ता स्थानीय स्रोतलाई आधुनिक विज्ञानसँग जोड्ने विषयमा तीनवटा विशेष गोलमेच छलफलसमेत आयोजना गरिँदैछ ।
सम्मेलनमा पाँचवटा प्रमुख सम्बोधन, ३५ वटा आमन्त्रित कार्यपत्र, ६ वटा विषयगत व्याख्यान र २७ वटा अनुसन्धानमूलक मौखिक प्रस्तुति तथा युवा वैज्ञानिकका ७० वटा पोस्टर शोधपत्र प्रस्तुत हुने कार्यक्रम छ ।
सम्मेलनको अन्तिम दिन उत्कृष्ट अनुसन्धान तथा पोस्टर प्रस्तुतकर्ताहरूलाई पुरस्कृत गरिनेछ । सम्मेलन समापनपछि सहभागी वैज्ञानिकहरूलाई मकवानपुरको चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थलगत वैज्ञानिक अध्ययन भ्रमणसमेत गराइने आयोजकले जनाएको छ ।
सम्मेलनले नेपालमा पदार्थ विज्ञान, न्यानो प्रविधि, जैविक प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनको विकाससँगै अन्तर्राष्ट्रिय प्राज्ञिक सहकार्य विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!