एनपीएलमा आज जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

एनपीएलमा आज जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

काठमाडौ ।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज तथा दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने पहिलो खेलमा जनकपुर जितको खोजीमा मैदान उत्रिँदैछ। पहिलो संस्करणको विजेता जनकपुरले यसअघि कात्तिक १० गते भएको आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार व्यहोरेको थियो। त्यसैले जनकपुर आज जित निकाल्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्ने लक्ष्यमा हुनेछ।

यता, काठमाडौं गोर्खाज भने यस सिजन सुखद् सुरुआत गर्ने योजनामा छ। काठमाडौंको यो प्रतियोगितामा पहिलो खेल हो। गत संस्करण लिग चरणमा १० अंकसहित तेस्रो स्थानमा रहेको काठमाडौं इलिमिनेटरमा साविक उपविजेता लुम्बिनी लायन्ससँग चार विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। जनकपुर र काठमाडौंबीचको खेल मध्याह्न १२ः३० बजे सुरु हुनेछ।

आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स आमनेसामने हुनेछन्। पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको कर्णाली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ।

विराटनगर भने प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ। विराटनगरले यसअघि कात्तिक १० गते भएको खेलमा चितवन राइनोजसँग आठ रनको हार व्यहोरेको थियो।

विराटनगर र कर्णालीबीचको खेल साँझ ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP