बूढीगण्डकी बाढीले मनास्लुका स्याउ गोदाममै थन्किए, लाखौँ किलो खेर जाने जोखिम

बूढीगण्डकी बाढीले मनास्लुका स्याउ गोदाममै थन्किए, लाखौँ किलो खेर जाने जोखिम

गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि बूढीगण्डकी बाढीले सडक र पुल बगाएपछि किसान तथा व्यवसायी समस्यामा परेका छन्। ढुवानीको विकल्प नहुँदा उत्पादित स्याउ गोदाममै थन्किएको छ भने लाखौँ किलो स्याउ कुहिएर खेर जाने जोखिम बढेको छ।

चुमनुब्री गाउँपालिका-६ मा असोज २५ गते हिमपहिरोका कारण उङ्गिलुङ खोला थुनिएपछि आएको बाढीले बूढीगण्डकी नदी आसपासका पुल तथा सडकमा क्षति पुर्‍याएको थियो। यसले उत्तरी गोरखाको प्रमुख आवागमन मार्ग बेनीघाट-आरुघाट-लार्के सडकसमेत अवरुद्ध भएपछि कृषि उपज बजारसम्म पुर्‍याउन कठिन भएको हो।

चुमनुब्री गाउँपालिका-४ नाम्रुङमा स्याउखेती गर्दै आएका व्यवसायी लाक्पा डुन्डुप लामाका अनुसार उनको बगैँचामा यस वर्ष करिब एक लाख किलो स्याउ उत्पादन भएको छ। २ हजार ६५० मिटर उचाइमा रहेको बगैँचामा गाला, गोल्डेन डिलिसियस, रेड डिलिसियस, किङ डिलिसियस र फुजी जातका १२ हजार ५०० बोट छन्।

लामाले अधिकांश स्याउ टिपिसके पनि बजारसम्म पुर्‍याउन नसक्दा बिग्रन थालेको बताएका छन्। बाढीले सडक तथा पुल बगाएपछि मानिस हिँड्न मिल्ने बाटो बने पनि खच्चडबाट स्याउ ढुवानी गर्न नसकिने अवस्था रहेको उनको भनाइ छ।

समस्या यतिमै सीमित छैन। भदौ २१ गते थेराङ खोलाको बाढीले लघुजलविद्युत् आयोजना बगाएपछि विद्युत् अभावमा स्याउ सुकाउने ड्रायरसमेत सञ्चालन हुन सकेको छैन। यसले स्याउको सुकुटी बनाएर सुरक्षित राख्ने विकल्प पनि प्रभावित भएको छ।

व्यवसायीका अनुसार यस क्षेत्रमा खच्चडबाट स्याउ ढुवानी गर्दा बाटोको कठिनाइ र घामका कारण २० देखि २५ प्रतिशतसम्म स्याउ खेर जाने गरेको छ। हेलिकोप्टरबाट ढुवानी गर्दा लागत बढ्ने भएकाले बजारमा प्रतिस्पर्धा गर्न कठिन हुने समस्या छ।

बाढीपछि गाउँपालिका र सडक आयोजनाले अस्थायी रूपमा पैदलमार्ग खुलाउने प्रयास गरे पनि स्याउ ढुवानी सहज हुन सकेको छैन। किसानहरू अहिले केही स्याउ सुकाएर सुकुटी बनाउने तथा मदिराजन्य पदार्थ उत्पादन गर्ने प्रयासमा छन्। तर, ठूलो परिमाणमा उत्पादन गर्ने किसानका लागि यो पर्याप्त विकल्प बन्न सकेको छैन।

सडक तथा पुलमा भएको क्षतिले मनास्लु क्षेत्रका किसानको उत्पादन बजारसम्म पुर्‍याउने समस्या थप गम्भीर बनेको छ। समयमै ढुवानीको व्यवस्था हुन नसके यस वर्षको ठूलो परिमाणमा स्याउ खेर जाने चिन्ता व्यवसायीले व्यक्त गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मियामी विमानस्थलमा यात्रुवाहक र कार्गो विमान ठोक्किए, दुई यात्रु घाइते
10 घण्टा अगाडि

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...

छुटाउनुभयो कि ?

TOP