काठमाडौं फिल्म फेस्टिभल आजदेखि सुरु, शबाना आजमीसहित अन्तर्राष्ट्रिय फिल्मकर्मी सहभागी हुँदै

काठमाडौं फिल्म फेस्टिभल आजदेखि सुरु, शबाना आजमीसहित अन्तर्राष्ट्रिय फिल्मकर्मी सहभागी हुँदै

काठमाडौं । काठमाडौंको मौलिक संस्कृति, परम्परा र सम्पदालाई विश्वमाझ चिनाउने उद्देश्यले आयोजना हुन लागेको 'काठमाडौं फिल्म फेस्टिभल २०८३' शुक्रबारदेखि सुरु हुँदैछ। कात्तिक १३ देखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन वसन्तपुरमा गरिने काठमाडौं महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाका अनुसार महोत्सवमा स्वदेशी तथा विदेशी फिल्म प्रदर्शनका साथै फिल्मसम्बन्धी अन्तरसंवाद, मास्टरक्लास, प्यानल छलफल र लघुचलचित्र प्रतियोगितालगायत कार्यक्रम सञ्चालन हुनेछन्।

महोत्सवमा भारतीय अभिनेत्री शबाना आजमी, सांघाई फिल्म एकेडेमीका विशिष्ट प्राध्यापक मार्को मुलर, जापानी निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डी’ कुन्हाललगायत अन्तर्राष्ट्रिय फिल्मकर्मी सहभागी हुने कार्यक्रम छ।

महोत्सवका कार्यक्रम वसन्तपुर, राष्ट्रिय सभागृह, जय नेपाल हल, नेपाल पर्यटन बोर्ड र बौद्धस्थित तारागाउँ नेक्स्ट म्युजियममा सञ्चालन हुनेछन्।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महोत्सवलाई एकपटकको कार्यक्रमका रूपमा मात्र नभई निरन्तरता दिने योजना रहेको बताएकी छन्। उनका अनुसार फिल्मका माध्यमबाट काठमाडौंको संस्कृति र सम्पदाको अभिलेखीकरण गर्नुका साथै नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय जगतसँग जोड्ने लक्ष्य राखिएको छ।

महोत्सवअन्तर्गत कात्तिक १४ गते नेपाल पर्यटन बोर्डमा अभिनेत्री शबाना आजमीसँग 'फिल्म्स, फेस्टिभल्स एन्ड अ लाइफ वेल लाइभ्ड' विषयमा अन्तरसंवाद हुनेछ। सोही दिन दीप्ति डी' कुन्हाले सिर्जनात्मक सहरको विकासमा फिल्म र फिल्म महोत्सवको भूमिकाबारे छलफल गर्ने कार्यक्रम छ।

त्यस्तै, जापानी निर्देशक ताकायुकी नाकामुराले राष्ट्रिय सभागृहमा जापानको यामागाता युनेस्को फिल्म सिटीबारे प्रस्तुति दिनेछन्। कात्तिक १५ गते प्राध्यापक मार्को मुलरले चलचित्र सौन्दर्यशास्त्र र अन्तर्राष्ट्रिय फिल्म महोत्सवसम्बन्धी मास्टरक्लास सञ्चालन गर्नेछन्।

महोत्सवमा नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, फ्रान्स, दक्षिण कोरिया र सिंगापुरलगायत देशका फिल्म प्रदर्शन गरिनेछन्। नेपाली फिल्म 'कुमारी' र 'के घर के डेरा' को विशेष प्रदर्शनसँगै जापानको यामागाता सहरबाट आएका लघुचलचित्र पनि देखाइने आयोजकले जनाएको छ।

महोत्सवको 'नेपाल पानोरामा' अन्तर्गत खुला आह्वानबाट प्राप्त ७५ फिल्ममध्ये छनोट गरिएका १० वटा छोटा फिल्म तथा लघुचलचित्र प्रदर्शन गरिनेछन्। छनोट भएका फिल्मका निर्मातालाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ प्रदान गरिनेछ।

युवालाई लक्षित 'माई कल्चर, माई हेरिटेज' शीर्षकको भिडिओ प्रतियोगितामा प्राप्त ३५ भिडिओमध्ये ११ वटा छनोट भएका छन्। प्रतियोगितामार्फत युवा पुस्ताको दृष्टिकोणबाट काठमाडौंको संस्कृति, सम्पदा र मौलिक पहिचान प्रस्तुत गरिनेछ।

काठमाडौंले सन् २०२३ नोभेम्बरमा युनेस्कोको ‘क्रिएटिभ सिटी अफ फिल्म’ को मान्यता प्राप्त गरेको थियो। सोही मान्यतापछि महानगरपालिकाले अन्तर्राष्ट्रिय फिल्म महोत्सव आयोजना गर्ने प्रतिबद्धता जनाएको थियो।

महोत्सवमा सबै फिल्म निःशुल्क प्रदर्शन गरिनेछ। तर, फिल्म हेर्न चाहने दर्शकले निःशुल्क टिकट लिनुपर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP