चर्चामा
काठमाडौँ । 'अर्नब' चक्रवातको सम्भावित प्रभावका कारण आगामी कात्तिक १५ गतेसम्म नेपालका विभिन्न नदी जलाधारमा उल्लेखनीय वर्षा हुने र जलसतह बढ्ने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले सम्भावित बाढी, डुबान तथा अन्य जलजन्य जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार नारायणी, बागमती, कमला, कन्काई र कोशी नदी जलाधार तथा आसपासका क्षेत्रमा बढी वर्षा हुने सम्भावना छ। बिहीबारदेखि नदीमा जलसतह सामान्य बढ्न सुरु हुने र शुक्रबार मध्यमदेखि भारी वर्षाका कारण जलसतह उल्लेख्य बढ्न सक्ने अनुमान छ।
शनिबार प्रमुख नदीहरूमा जलसतह उच्च बिन्दुमा पुग्न सक्ने भए पनि हालको आकलनअनुसार सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ। आइतबार भने कोशी, बागमती र नारायणी जलाधारका केही स्थानमा हल्का वर्षा भई जोखिम क्रमशः घट्ने अनुमान छ।
यसैगरी, कोशी र नारायणी जलाधारका उच्च हिमाली क्षेत्रमा हिमपात तथा हिमपहिरोको जोखिम औँल्याइएको छ। पहाडी र चुरे क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने तथा तराईका केही स्थानमा डुबान हुन सक्ने सम्भावना रहेकाले नदी किनार र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
कात्तिक १२, १३ र १४ गते पहाडी तथा चुरे क्षेत्रका साना नदीमा आकस्मिक बहावको मध्यम जोखिम रहने भएकाले नदीमा पानीको बहाव बढेको अवस्थामा नदी तर्ने, किनारमा जाने तथा जोखिमपूर्ण गतिविधि नगर्न महाशाखाले अनुरोध गरेको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!