मृत ठानेर दागबत्ती दिएका व्यक्ति ६ महिनापछि जिउँदै घर फर्किए

मृत ठानेर दागबत्ती दिएका व्यक्ति ६ महिनापछि जिउँदै घर फर्किए

विराटनगर । सडक दुर्घटनामा मृत्यु भएको ठानेर परिवारले दागबत्ती दिए, काजकिरिया गरे र दुर्घटना बिमाको रकमसमेत बुझे। तर, मृत ठानेर अन्तिम संस्कार गरिएका ३७ वर्षीय पदमबहादुर राई ६ महिनापछि सकुशल घर फर्किएपछि मोरङको लेटाङमा अनौठो घटना सार्वजनिक भएको छ।

मोरङको लेटाङ नगरपालिका-५, खेरुवाका राई घर फर्किएपछि परिवारसँगै प्रहरी र अस्पताल प्रशासनसमेत आश्चर्यमा परेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत जेठ २६ गते बिहान सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका थिए। उपचारका लागि विराट टिचिङ अस्पताल, बुढीगंगा लगिएका ती पुरुषको भोलिपल्ट मृत्यु भएको थियो।

पहिचान खुल्न नसकेपछि शव कोशी अस्पतालको शवगृहमा राखिएको थियो। प्रहरीले मृतकका आफन्तलाई सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेपछि पदमबहादुरकी आमाले अस्पताल पुगेर शव आफ्नै छोराको भएको भन्दै सनाखत गरेकी थिइन्। त्यसपछि आवश्यक प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाइएको थियो।

परिवारले धार्मिक परम्पराअनुसार अन्तिम संस्कार सम्पन्न गर्नुका साथै दुर्घटना बिमाबापतको रकमसमेत बुझिसकेको थियो।

६ महिनासम्म भारतमा मजदुरी

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहका अनुसार पदमबहादुर २०८२ सालको माघदेखि परिवारलाई जानकारी नदिई घर छाडेर हिँडेका थिए। वैवाहिक सम्बन्धमा आएको समस्याका कारण उनी मानसिक तनावमा रहेको र बेलाबेला घर छाडेर जाने गरेको प्रहरीले जनाएको छ।

६ महिनापछि घर फर्किएका पदमबहादुरले आफू भारतमा मजदुरी गरेर बसेको बताएका छन्। उस्तै हुलिया भएका व्यक्तिको दुर्घटनामा मृत्यु भएपछि परिवारले शव आफ्नै छोरा ठानेर सनाखत गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक बुझाइ छ।

मृत ठानेर अन्तिम संस्कार गरिसकेको छोरा जिउँदै घर फर्किएपछि परिवारमा खुसीसँगै अन्योलसमेत उत्पन्न भएको छ।

वास्तविक मृतकको पहिचान खोज्दै प्रहरी

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कबित कटुवालका अनुसार घटनाबारे थप प्रक्रिया अघि बढाउन बिहीबार पदमबहादुरको परिवारलाई कोशी अस्पताल बोलाइएको छ।

अब प्रहरीले त्यसबेला सुरक्षित राखिएका शवका तस्बिर तथा भिडियोका आधारमा अन्तिम संस्कार गरिएको व्यक्तिको वास्तविक पहिचान खोज्ने जनाएको छ। साथै, मृत्यु भएको भनी तयार गरिएका कागजात र बुझिसकिएको दुर्घटना बिमाको रकमसम्बन्धी विषय पनि टुंग्याउनुपर्ने देखिएको छ।

एउटा शवको गलत पहिचानका कारण जटिल बनेको यो घटनाले शव सनाखत प्रक्रियामाथि समेत प्रश्न उठाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP