तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का तोडियो, ४७ प्रतिशत मात्रै काम

तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का तोडियो, ४७ प्रतिशत मात्रै काम

मेची करिडोरअन्तर्गत इलामको बेलासे-गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्का सम्झौता तोडिएको छ। पटक-पटक म्याद थप गर्दा पनि निर्माण कार्यले गति लिन नसकेपछि सडक डिभिजन कार्यालय इलामले ठेक्का अन्त्य गरेको हो।

केचना-कञ्चनजङ्घा सडकअन्तर्गत पर्ने ९.५ किलोमिटर सडक स्तरोन्नतिका लागि २७ करोड २२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने आयोजना पटक-पटक म्याद थप गर्दा पनि ४७ प्रतिशत मात्रै पूरा भएको थियो।

पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम भौतिक प्रगति भएपछि ठेक्का तोड्ने निर्णय गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ।

सडक डिभिजन इलामका अनुसार आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म काममा ढिलाइ भएका १२ वटा ठेक्का सम्झौता अन्त्य गरिएका छन्। ती आयोजनामा निर्माण व्यवसायीबाट पेस्कीबापत २ करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ भने ६ करोड ७९ लाख रुपैयाँ बराबरको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ।

ठेक्का अन्त्य गरिएको बेलासे-गोलाखर्क भञ्ज्याङ सडकको बाँकी निर्माण कार्य अघि बढाउन नयाँ ठेक्का प्रक्रिया सुरु गरिने कार्यालयले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP