मध्यपूर्वमा शान्तिवार्ताको आशा बढ्दा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा शान्तिवार्ताको आशा बढ्दा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका, इजरायल र इरानबीचको द्वन्द्व अन्त्य गर्न कूटनीतिक पहल अघि बढ्ने आशा बढेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। मध्यपूर्वमा तेल आपूर्ति अवरुद्ध हुने जोखिमप्रति लगानीकर्ताको चिन्ता केही कम भएपछि बिहीबार तेलको मूल्यमा गिरावट आएको हो।

रोयटर्सका अनुसार बिहीबार बिहान अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ११४ डलर आसपास पुगेको थियो भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य प्रतिब्यारेल १०१ डलर आसपास कारोबार भएको थियो।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी पक्षसँग वार्ता पुनः अघि बढाउने प्रयास गरेको र कतारका मध्यस्थकर्ताले इरानसमक्ष युद्ध अन्त्यसम्बन्धी नयाँ प्रस्तावको मस्यौदा प्रस्तुत गरेको खबर सार्वजनिक भएको छ। यद्यपि इरानी पक्षबाट प्रस्तावप्रति मिश्रित प्रतिक्रिया आएको छ र वार्ता सफल हुने निश्चित भइसकेको छैन।

यसैबीच, यमनका हुथी विद्रोहीका आक्रमण तथा साउदी अरबको तेल पूर्वाधारमा हुन सक्ने जोखिमले बजारमा अनिश्चितता कायम राखेको छ। मध्यपूर्व विश्वको प्रमुख तेल उत्पादन तथा ढुवानी क्षेत्र भएकाले त्यहाँको द्वन्द्वले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ।

तेलको मूल्यमा आएको गिरावटले ऊर्जा बजारमा केही राहत दिए पनि द्वन्द्वको अवस्था र शान्तिवार्ताको प्रगतिअनुसार मूल्यमा फेरबदल हुन सक्ने विश्लेषण गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP