विद्यालयको पुस्तकालय अनुदानमा १७ लाख ४१ हजार भ्रष्टाचारको आरोप, चार जनाविरुद्ध मुद्दा

विद्यालयको पुस्तकालय अनुदानमा १७ लाख ४१ हजार भ्रष्टाचारको आरोप, चार जनाविरुद्ध मुद्दा

काठमाडौ ।जाजरकोटको कुशे गाउँपालिका–२ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालयको पुस्तकालय अनुदान रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले बिहीबार (२०८३ कात्तिक १२ गते) तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिचन्द्र जैसी, सदस्य जनकबहादुर नेपाली, प्रधानाध्यापक धनबहादुर सिंह र लेखा सहायक धीरेन्द्रबहादुर सिंहविरुद्ध आरोपपत्र दायर गरेको हो।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा जिल्ला शिक्षा कार्यालयबाट विद्यालयलाई प्राप्त पुस्तकालय अनुदान रकम उनीहरूले आपसी मिलेमतोमा कानुनविपरीत ऋण तथा सापटीका रूपमा लिएका थिए। सरकारी तथा सार्वजनिक संस्थालाई हानि–नोक्सानी पुर्‍याउने बदनियतले विद्यालयको रकम गैरकानुनी रूपमा बाँडीचुँडी लिएको र हालसम्म फिर्ता नगरेको आयोगको अनुसन्धानबाट खुलेको छ।

आयोगले यस प्रकरणमा १७ लाख ४१ हजार ४४६ रुपैयाँ हिनामिना तथा सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी भएको ठहर गरेको छ।

आरोपपत्रअनुसार तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिचन्द्र जैसी, प्रधानाध्यापक धनबहादुर सिंह र लेखा सहायक धीरेन्द्रबहादुर सिंहविरुद्ध जनही १७ लाख ४१ हजार ४४६ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसुरमा कैद, बिगोबराबर जरिवाना र हिनामिना भएको रकम असुलउपर गर्न मागदाबी गरिएको छ।

त्यस्तै, तत्कालीन विद्यालय व्यवस्थापन समिति सदस्य जनकबहादुर नेपालीविरुद्ध एक लाख रुपैयाँ बिगो कायम गरी सोही ऐनअनुसार कैद, बिगोबराबर जरिवाना र रकम असुलउपर गर्न मागदाबी गरिएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार चारै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मियामी विमानस्थलमा यात्रुवाहक र कार्गो विमान ठोक्किए, दुई यात्रु घाइते
10 घण्टा अगाडि

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...

छुटाउनुभयो कि ?

TOP