चक्रवात ‘अर्नब’को प्रभाव तीव्र, देशभर वर्षा र हिमपातको जोखिम

चक्रवात ‘अर्नब’को प्रभाव तीव्र, देशभर वर्षा र हिमपातको जोखिम

काठमाडौं।बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा देखिन थालेको छ। शुक्रबार बिहानदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश भूभागमा बदली रहने तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

चक्रवात अर्नब भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्र हुँदै जमिनमा प्रवेश गरेपछि कमजोर बनेको भए पनि त्यसको अवशेषले नेपालमा वर्षा र हिमपात गराउने मौसमविद्हरूले बताएका छन्। आज दिउँसोदेखि रातिसम्म केही स्थानमा भारी वर्षा र उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि वर्षा र हिमपातको सम्भावना छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने मौसम विभागले जनाएको छ।

वर्षासँगै तापक्रम घट्ने, पहाडी क्षेत्रमा पहिरो जाने, नदी तथा खोलामा पानीको बहाव बढ्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने जोखिम रहेको छ। विशेषगरी नारायणी, बागमती र कोशी नदी आसपासका क्षेत्र तथा पहिरोको जोखिम भएका सडक खण्डमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

मौसम प्रतिकूल हुने भएकाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा र पर्वतारोहण नगर्न, अत्यावश्यक कामबाहेक लामो यात्रा नगर्न र नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा सतर्क रहन सम्बन्धित निकायले आग्रह गरेका छन्।

शनिबारसम्म वर्षा र हिमपातको सम्भावना कायम रहने तथा आइतबारदेखि मौसम क्रमशः सुधार हुँदै जाने पूर्वानुमान गरिएको छ। सरकारले आधिकारिक मौसम सूचना नियमित हेर्न र सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP