जग्गा पास गर्न तीन लाख घुस, वडा अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जग्गा पास गर्न तीन लाख घुस, वडा अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको अंशबण्डासम्बन्धी लिखत पारित गरिदिन सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिएको आरोपमा ललितपुरका वडा अध्यक्षसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार ललितपुरको लगनखेलस्थित भूमि प्रशासन कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीको मिलेमतोमा सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस मागेर लिएको अवस्थामा आयोगको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

मुद्दा दायर गरिएकामा भूमि प्रशासन अधिकृत अर्जुन देव योङ्या, नवीनकुमार गोले, नायब सुब्बाहरू मनोज पोखरेल, राजकुमार मगर र विशाल सुन्दास, खरिदार नरेन्द्रबहादुर बस्नेत र भक्तबहादुर राना तथा सहायक कम्प्युटर अपरेटर इन्दु दाहाल रहेका छन्।

त्यस्तै ललितपुर महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष सन्तोष खड्का र लेखापढी व्यवसायी शैलेन्द्र रानामगर तथा समीर कट्वालविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

आयोगले उनीहरूमाथि तीन लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवानाको सजाय मागदाबी गरेको छ। लेखापढी व्यवसायीलाई मुख्य कसुरदारलाई हुने सजायसरह सजाय गर्नसमेत माग गरिएको छ। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP