जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल चलाउने तयारी, उद्घाटन प्रधानमन्त्रीद्वयले गर्ने

जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल चलाउने तयारी, उद्घाटन प्रधानमन्त्रीद्वयले गर्ने

जनकपुरधाम । जनकपुरधामदेखि भारतको धार्मिक नगरी अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्ने तयारी भइरहेको छ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार यस विषयमा दुवै देशका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच छलफल भइरहेको छ। उद्घाटनको मिति भने औपचारिक रूपमा तय भइसकेको छैन।

रामायण सर्किटअन्तर्गत सञ्चालन गर्न लागिएको उक्त रेल सेवाका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी भइरहेको छ। रेल यात्रु र सुरक्षाको जिम्मेवारी नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले लिने विषयमा सैद्धान्तिक सहमति भएको छ।

यसअघि दुवै देशका रेल्वे, सुरक्षा, भन्सार तथा अध्यागमन अधिकारीको टोलीले जयनगर-जनकपुरधाम-कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरेको थियो।

जनकपुरधामलाई भगवान् रामको जन्मभूमि अयोध्यासँग रेलमार्गबाट जोड्दा धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै दुई देशबीचको सांस्कृतिक सम्बन्ध थप बलियो हुने अपेक्षा गरिएको छ। यसले तीर्थयात्रीको आवागमन सहज बनाउनुका साथै स्थानीय आर्थिक गतिविधिमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।

हाल जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP