चर्चामा
काठमाडौं । दिनभरि कार्यालयको कुर्सी, गाडीको सिट र घरको सोफामा बसेर समय बिताउने बानी छ ? त्यसो हो भने आफ्नो दैनिकीमा केही साना परिवर्तन गर्न आवश्यक छ। किनकि शरीरलाई स्वस्थ राख्न घण्टौँ जिम धाउनैपर्छ भन्ने छैन।
बीबीसीका अनुसार खुट्टा हल्लाउने, सिँढी चढ्ने, छिटो हिँड्ने र घरायसी काम गर्ने जस्ता सामान्य गतिविधिले पनि स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छन्।
सन् २०२४ मा गरिएको एक अध्ययनले दैनिक चार मिनेटसम्म गरिने छोटा शारीरिक गतिविधिले पनि मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिम घटाउन सहयोग गर्न सक्ने देखाएको छ। बेलायतका २२ हजारभन्दा बढी मानिसमा आठ वर्षसम्म गरिएको अनुसन्धानले दैनिक जीवनमा सक्रियता बढाउँदा लामो समय बसिरहँदाको स्वास्थ्य जोखिम कम हुन सक्ने देखाएको हो।
दैनिक बानीमै जोड्नुस् शारीरिक गतिविधि
लामो समयसम्म एउटै ठाउँमा बस्दा मांसपेशी निष्क्रिय हुने र रक्तसञ्चारमा असर पर्न सक्छ। यस्तो अवस्थामा बीचबीचमा खुट्टा हल्लाउने, शरीर तन्काउने वा केही समय उभिने गर्दा शरीर सक्रिय राख्न मद्दत पुग्छ।
त्यस्तै, फोनमा कुरा गर्दा हिँड्ने, लिफ्टको सट्टा सिँढी प्रयोग गर्ने, सामान किन्न जाँदा केही दूरी पैदल हिँड्ने र घर सफा गर्ने जस्ता काम पनि उपयोगी हुन्छन्।
दाँत माझ्दा कुर्कुच्चा उठाउने, कार्यालयमा बसेर काम गर्दा बीचबीचमा उठेर हिँड्ने र बालबालिकासँग खेल्ने बानीले पनि दैनिक शारीरिक गतिविधि बढाउँछ।
स्वास्थ्य अनुसन्धानकर्ताहरूका अनुसार यस्ता गतिविधिले ऊर्जा खर्च बढाउनुका साथै रक्तचाप र रगतमा चिनीको मात्रा नियन्त्रणमा सहयोग पुर्याउन सक्छन्।
त्यसैले स्वस्थ रहन सधैँ जिम वा लामो समयको कसरत आवश्यक हुँदैन। दिनभरि गरिने साना गतिविधिलाई नियमित बानी बनाउनु पनि शरीरलाई सक्रिय राख्ने सजिलो उपाय हुन सक्छ।
स्रोत : बीबीसी
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!