पतञ्जली जग्गा प्रकरणमा माधव नेपाललाई पेसी सार्ने अनुमति, अन्तिम फैसला फेरि धकेलियो

पतञ्जली जग्गा प्रकरणमा माधव नेपाललाई पेसी सार्ने अनुमति, अन्तिम फैसला फेरि धकेलियो

काठमाडौं । पतञ्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले पेसीमा अनुपस्थित हुन अनुमति दिएको छ।

विशेष अदालतले नेपालको निवेदन स्वीकार गर्दै कात्तिक १९ गतेका लागि तोकिएको पेसीमा एकपटक अनुपस्थित हुन अनुमति दिएको हो। विशेष कामले बाहिर जानुपर्ने भएकाले अदालतमा उपस्थित हुन नसक्ने भन्दै नेपालले अनुमति मागेका थिए।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले उनको मागअनुसार आदेश दिएको हो। अब अर्को पेसीमा मुद्दाको अन्तिम आदेश आउन सक्ने अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिएकी छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ २२ गते माधवकुमार नेपालसहितका व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
२०६६ सालमा नेपाल प्रधानमन्त्री रहेका बेला पतञ्जली योगपीठलाई काभ्रेपलाञ्चोकको साँगा र महेन्द्रज्योतिमा हदबन्दी छुट दिएर जग्गा खरिद गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो। पछि सोही जग्गा बिक्री गर्नसमेत अनुमति दिइएको थियो।

अख्तियारले मन्त्रिपरिषद्का निर्णयबाट गैरकानुनी रूपमा जग्गा खरिद तथा बिक्री भएको दाबी गर्दै नेपालविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अब विशेष अदालतको आगामी पेसीबाट यस प्रकरणमा अन्तिम आदेश आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP