दीपावली र छठका लागि माटाका सामग्री बनाउन व्यस्त कुमाल, पुस्तौँदेखिको पेसा जोगाउने चुनौती

दीपावली र छठका लागि माटाका सामग्री बनाउन व्यस्त कुमाल, पुस्तौँदेखिको पेसा जोगाउने चुनौती

जनकपुरधाम । दीपावली र छठ पर्व नजिकिएसँगै जनकनन्दनी गाउँपालिका-४ खजुरीका कुमाल समुदायलाई माटाका सामग्री बनाउन भ्याइनभ्याइ भएको छ। बिहानैदेखि साँझ अबेरसम्म उनीहरू माटो मुछ्न, चक्र घुमाउन र विभिन्न आकारका सामग्री बनाउन व्यस्त छन्।

दियो, कलश, घैँटो, हाँडी, धुपौरो, हात्ती, कोसिया, कुर्वार र मट्काजस्ता सामग्री बनाउन अहिले खजुरीका कुमाललाई भ्याइनभ्याइ छ। चाडपर्वको चहलपहल बढेसँगै उनीहरूको घरआँगनमा माटाका भाँडाकुँडा हेर्न र किन्न आउनेको चहलपहल पनि बढ्न थालेको छ।

वर्षभरि सुस्त रहने माटाका सामग्रीको कारोबार दीपावली र छठको समयमा केही बढ्ने भएकाले उनीहरू अहिले उत्पादनमा केन्द्रित भएका हुन्। स्थानीय पृतम पण्डितका अनुसार चाडपर्वकै समयमा माटाका सामग्रीको बिक्री राम्रो हुने गर्छ।

कुमाल समुदायका लागि यो समय आम्दानी गर्ने अवसर मात्र नभई पुस्तौँदेखि चल्दै आएको पुख्र्यौली पेसा र सीपलाई निरन्तरता दिने समय पनि हो। स्थानीय अयोधि पण्डितले दसैँ सकिएलगत्तै माटाका भाँडा बनाउने काममा लागेको बताउँदै दसैँदेखि छठसम्मको व्यापारबाट खर्च कटाएर एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको जानकारी दिए।

तर, चाडपर्वमा माग बढे पनि वर्षभरि यही पेसाबाट परिवारको खर्च धान्न कठिन रहेको समुदायका अगुवा रामनारायण पण्डित बताउँछन्। बजारमा प्लास्टिक, स्टिल र आल्मुनियमका सामग्रीको प्रयोग बढ्दै जाँदा परम्परागत माटाका भाँडाकुँडाको माग घट्दै गएको उनको भनाइ छ।

कुनै समय पानी राख्न घैँटो, खाना पकाउन हाँडी, पूजाआजामा कलश र दीपावलीमा दियो अनिवार्यजस्तै मानिन्थ्यो। तर, आधुनिक सामग्रीको बढ्दो प्रयोगसँगै माटाका भाँडाकुँडाको स्थान साँघुरिँदै गएको छ।

यसले कुमाल समुदायको आम्दानीमा असर पार्नुका साथै नयाँ पुस्तालाई पुख्र्यौली पेसाप्रति आकर्षित गर्नसमेत चुनौती थपेको छ। परम्परागत सीप, संस्कृति र पहिचानसँग जोडिएको माटाका सामग्री बनाउने पेसा जोगाउन राज्य, स्थानीय सरकार र उपभोक्ताको सहयोग आवश्यक रहेको समुदायको भनाइ छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP