बंगालको खाडीमा अर्को चक्रवात विकसित हुँदै, नेपालमा ठूलो असर नपर्ने अनुमान

बंगालको खाडीमा अर्को चक्रवात विकसित हुँदै, नेपालमा ठूलो असर नपर्ने अनुमान

काठमाडौँ । अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै गएका बेला बंगालको खाडीमा अर्को न्यून चापीय प्रणाली विकसित भएको छ। भारतीय मौसम विज्ञान विभागका अनुसार यो प्रणाली आगामी केही दिनमा शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना छ। यद्यपि, अर्नबको तुलनामा यो प्रणाली कमजोर रहने अनुमान गरिएको छ।

विभागका अनुसार अक्टोबर ३१ को रातिसम्म उक्त प्रणाली बंगालको खाडीको दक्षिणपूर्वी क्षेत्रमा केन्द्रित थियो। पश्चिम-उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको यो प्रणाली नोभेम्बर १ सम्म गहिरो न्यून चापीय प्रणालीमा परिणत हुने र नोभेम्बर २ सम्म शक्तिशाली चक्रवाती आँधी बन्न सक्ने पूर्वानुमान छ।

आँधी नोभेम्बर ३ को बिहान दक्षिण आन्ध्र प्रदेशको तटीय क्षेत्र हुँदै जमिनमा प्रवेश गर्ने सम्भावना छ। जमिनमा प्रवेश गर्दा हावाको गति प्रतिघण्टा १०० देखि ११० किलोमिटर र झोक्कासहित १२० किलोमिटरसम्म पुग्न सक्ने भारतीय मौसम विज्ञान विभागले जनाएको छ।

अर्नबभन्दा कमजोर रहने अनुमान

भारतको मौसम तथा जलवायु विश्लेषण गर्ने संस्था स्काईमेटका अनुसार नयाँ प्रणाली अर्नब चक्रवातभन्दा कमजोर रहने देखिएको छ। अर्नबलाई बंगालको खाडीबाट जमिनसम्म पुग्न सात दिन लागेको थियो भने नयाँ प्रणाली करिब तीन दिनमै जमिनमा पुग्ने अनुमान छ।

छोटो समयमै जमिनमा पुग्ने भएकाले यसले अर्नबको तुलनामा कम जलवाष्प संकलन गर्ने र कम वर्षा गराउने विश्लेषण गरिएको छ।

नेपालमा कस्तो असर पर्ला ?

यसअघि अर्नब चक्रवातको प्रभावले नेपालमा कात्तिक १२, १३ र १४ गते वर्षा तथा हिमपात भएको थियो। तर, नयाँ मौसमी प्रणालीको नेपालमा उल्लेख्य प्रभाव पर्ने सम्भावना कम रहेको मौसमविद्हरूले बताएका छन्।

भारतका मौसमविद्हरूले यसको प्रभाव नेपालसँग सीमा जोडिएको बिहारसम्म देखिन सक्ने बताएका छन्। यद्यपि, नेपालमा यसको असर कस्तो पर्छ भन्ने विषयमा मौसम पूर्वानुमान महाशाखाले निगरानी गरिरहेको छ।

महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार नयाँ प्रणालीले नेपालमा खासै ठूलो प्रभाव पार्ने देखिएको छैन। उनले मौसमी प्रणालीको अवस्थालाई नजिकबाट नियालिरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP