डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदी फरार, १५ सुरक्षाकर्मीले पत्तै पाएनन्

डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदी फरार, १५ सुरक्षाकर्मीले पत्तै पाएनन्

सुर्खेत । डोल्पा जिल्ला कारागारबाट शनिबार बिहान सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएका छन् । १५० जनाको क्षमता रहेको कारागारमा घटना हुँदा जम्मा १७ जना कैदीबन्दी थिए भने उनीहरूको सुरक्षाका लागि १५ जना सुरक्षाकर्मी खटिएका थिए ।

फरार हुनेमा जबर्जस्ती करणी मुद्दाका पाँच र चोरी मुद्दाका तीन जना रहेका छन् । उनीहरूमध्ये दुई जना थुनुवा र बाँकी कैदी हुन् । फरार भएकाहरूले कैदी सुत्ने कोठासँग जोडिएको सेफ्टी ट्याङ्कीबाट करिब ४.४३ मिटर लामो सुरुङ खनेर कारागारको पर्खालबाहिर निस्किएको प्रारम्भिक विवरण छ ।

जेलर दीर्घराज आरसीका अनुसार कैदीबन्दी फरार भएको कुरा शनिबार बिहान पौने ६ बजे मात्रै थाहा भएको थियो । राति पानी परेको र विद्युत् आपूर्ति अवरुद्ध भएको अवस्थालाई उनले घटनाको समयमा देखिएको परिस्थितिका रूपमा उल्लेख गरेका छन् । तर सुरुङ खन्ने क्रममा आवाज, माटो व्यवस्थापन वा अन्य गतिविधिबारे सुरक्षाकर्मीले कुनै जानकारी नपाएको बताइएको छ ।

कारागारका दुई सुरक्षा पोस्टबीच करिब ४० देखि ४२ मिटर दूरी रहेको र सुरुङ खनिएको स्थानमा सुरक्षाकर्मीको प्रत्यक्ष निगरानी नपुगेको देखिएको छ । सुरक्षा जानकारहरूले नियमित गस्ती र निगरानीमा कमजोरी भएको हुन सक्ने बताएका छन् ।

घटनापछि फरार कैदीबन्दीको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी करिब डेढदेखि दुई सय सुरक्षाकर्मी परिचालन गरिएको जेलर आरसीले बताएका छन् । डोल्पा प्रहरीले फरार आठै जनाको नाम, ठेगाना र तस्बिर सार्वजनिक गर्दै खोजी कार्यमा सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP