भेनेजुएलामा विद्रोही शिविरमा सैन्य आक्रमण, १९ जनाको मृत्यु

भेनेजुएलामा विद्रोही शिविरमा सैन्य आक्रमण, १९ जनाको मृत्यु

काठमाडौं । भेनेजुएलाको पश्चिमी अपुरे राज्यमा कोलम्बियाली विद्रोही समूह नेसनल लिबरेसन आर्मी (ईएलएन) को शिविरमा सेनाले गरेको आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान ड्रोन र सैन्य हेलिकप्टर प्रयोग गरी गरिएको आक्रमणमा मारिने अधिकांश भेनेजुएलाका नागरिक रहेको सैन्य स्रोतले जनाएको छ। सीमावर्ती क्षेत्रमा मानव अधिकार उल्लङ्घनको निगरानी गर्दै आएको संस्था फन्डारेड्सका अनुसार आक्रमणमा सुरुमा नौ जनाको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट थप १० जनाको शव सान फर्नान्डो लगिएको थियो।

नाम सार्वजनिक नगर्ने सर्तमा एक सैन्य स्रोतले उक्त कारबाहीमा अमेरिकी गुप्तचर निकाय सीआईए र एफबीआईको सहयोग रहेको तथा अमेरिकी आदेशमा आक्रमण गरिएको दाबी गरेको छ। यद्यपि, यस विषयमा अमेरिकी विदेश मन्त्रालय र भेनेजुएला सरकारले कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

भेनेजुएला र कोलम्बियाबीचको करिब दुई हजार २०० किलोमिटर लामो सीमावर्ती क्षेत्रमा लागुऔषध तस्करी, अवैध खनन तथा अन्य आपराधिक गतिविधिमा संलग्न सशस्त्र समूह सक्रिय छन्। सन् २०१६ मा फार्क विद्रोही समूहले कोलम्बिया सरकारसँग शान्ति सम्झौता गरेपछि ईएलएन क्षेत्रकै शक्तिशाली विद्रोही समूहका रूपमा स्थापित भएको हो।

मानव अधिकार अधिवक्ता तथा सैन्य मामिलाकी विशेषज्ञ रोसियो सान मिगुएलले पछिल्लो आक्रमणलाई भेनेजुएलाको सैन्य नीतिमा आएको परिवर्तनको सङ्केतका रूपमा व्याख्या गरेकी छन्। सैन्य स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा रहेका अन्य विद्रोही शिविरको खोजी तथा कारबाही अभियानसमेत जारी रहनेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP