प्रधानन्यायाधीश र न्यायाधीशको नाम जोडिएका समाचारबारे सर्वोच्चको चासो, निष्पक्ष छानबिन गर्न आग्रह

प्रधानन्यायाधीश र न्यायाधीशको नाम जोडिएका समाचारबारे सर्वोच्चको चासो, निष्पक्ष छानबिन गर्न आग्रह

काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्मा र सर्वोच्च अदालतका अन्य न्यायाधीशको नाम जोडेर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका विवरणबारे सर्वोच्च अदालतले चासो व्यक्त गरेको छ। सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले ती विषयमा स्वतन्त्र, निष्पक्ष र पूर्वाग्रहरहित छानबिन गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।

सोमबार बिहान ९ बजेदेखि बसेको पूर्ण बैठकमा प्रधानन्यायाधीश शर्मासहित सर्वोच्च अदालतका सबै बहालवाला न्यायाधीश सहभागी थिए। बैठकमा न्यायाधीश र बिचौलिया भनिएका इनम सापकोटाबीच भएको भनिएको कुराकानी, भेटघाट तथा सम्बन्धका विषयमा सार्वजनिक विवरणबारे छलफल भएको थियो।

यस विषयमा प्रधानन्यायाधीश शर्माको नामसमेत जोडिएपछि न्यायालयको विश्वसनीयताबारे प्रश्न उठेको भन्दै न्यायाधीशहरूले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने धारणा राख्दै आएका थिए। यसअघि शुक्रबार बसेको पूर्ण बैठकमा पनि विवादबारे छलफल भए पनि ठोस निर्णय हुन सकेको थिएन। त्यसपछि थप छलफलका लागि सोमबार पुनः बैठक बोलाइएको थियो।

करिब चार घण्टा चलेको बैठकले सार्वजनिक भएका विषयमा संविधान र कानुनबमोजिम निष्पक्ष तथा स्वतन्त्र छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न आग्रह गरेको छ। छानबिन तथा अनुसन्धानका क्रममा कानुनबमोजिम आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि बैठकले जनाएको छ।

त्यस्तै, छानबिनको निष्कर्ष नआउँदै कसैलाई दोषी ठहर गर्ने वा लाञ्छित गर्ने तथा न्याय सम्पादनमा अवरोध पुग्ने किसिमका समाचार प्रकाशन र प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरिएको छ। सार्वजनिक भएका समाचारबाट विचलित नभई न्यायिक काममा सक्रिय रहन मातहतका अदालतका न्यायाधीश तथा कर्मचारीलाई पनि बैठकले अनुरोध गरेको छ।

सर्वोच्च अदालतले संविधानको सर्वोच्चता, कानुनको शासन र न्यायिक जवाफदेहिताप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP