नेपालका ५८ ग्यास उद्योग गाभ्ने आयल निगमको तयारी, कार्ययोजना बनाउन पत्राचार

नेपालका ५८ ग्यास उद्योग गाभ्ने आयल निगमको तयारी, कार्ययोजना बनाउन पत्राचार

काठमाडौं । नेपाल आयल निगमले देशभर सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ। विभिन्न नाम र ब्रान्डमा सञ्चालन हुँदै आएका ग्यास उद्योगलाई एकीकरण गर्ने नीतिअनुसार निगमले उद्योगहरूलाई कार्ययोजना तयार पार्न आग्रह गरेको हो।

निगमका अनुसार हाल नेपालमा विभिन्न ब्रान्डका ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्। चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ मा ग्यास उद्योगलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने उल्लेख छ।

सोही नीतिअनुसार निगमले गत कात्तिक १२ गते सबै ग्यास उद्योगलाई पत्राचार गर्दै गाभ्ने प्रक्रियालाई प्रोत्साहन गर्न र आवश्यक कार्ययोजना बनाएर अघि बढ्न अनुरोध गरेको छ।

निगमले उद्योगहरूको संख्या तथा ब्रान्ड एकीकरण हुँदा ग्यासको बिक्री वितरण प्रणाली व्यवस्थित, सहज र उपभोक्तामैत्री बन्ने अपेक्षा गरेको छ।

एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले पनि मर्जरसम्बन्धी पत्र प्राप्त भएको बताएका छन्। उनका अनुसार धेरै ब्रान्ड हुँदा उपभोक्ताले आफूले खोजेको ब्रान्डको ग्यास नपाउने समस्या देखिने गरेको छ। कम ब्रान्ड हुँदा वितरण प्रणाली सहज हुन सक्ने उनको भनाइ छ।

यद्यपि, उद्योगहरूबीच एकीकरण कहिलेदेखि र कुन प्रक्रियाबाट अघि बढ्ने भन्ने विस्तृत कार्ययोजना सार्वजनिक भइसकेको छैन।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP