सरकारले २ हजार युवालाई निःशुल्क एआई तालिम दिँदै, २४ घण्टामै ४२ हजारभन्दा बढीको आवेदन

सरकारले २ हजार युवालाई निःशुल्क एआई तालिम दिँदै, २४ घण्टामै ४२ हजारभन्दा बढीको आवेदन

काठमाडौं । सरकारले २ हजार युवालाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी निःशुल्क तालिम दिने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले ‘मास्टरिङ एआई विथ इफेक्टिभ प्रम्प्ट इन्जिनियरिङ’ विषयमा अनलाइन तालिम सञ्चालन गर्न लागेको हो।

तालिमका लागि आवेदन खुला भएको २४ घण्टाभित्रै ४२ हजारभन्दा बढी युवाले आवेदन दिएका छन्। सीमित सिटभन्दा धेरै आवेदन परेपछि आवेदन फाराममा प्राविधिक समस्या देखिएको थियो। त्यसपछि प्रतिष्ठानले आफ्नै आधिकारिक वेबसाइटमार्फत पुनः आवेदन खुलाएको छ।

प्रतिष्ठानका अनुसार तालिम आगामी कात्तिक १८ र १९ गते सञ्चालन हुनेछ। दुई दिनसम्म चल्ने तालिममा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म र बेलुका ६ बजेदेखि राति ८ बजेसम्म गरी चारवटा सत्र सञ्चालन गरिनेछ। प्रत्येक सत्रमा ५०० जनाका दरले कुल २ हजार जनालाई सहभागी गराइनेछ।

तालिममा सहभागीलाई च्याटजीपीटी, क्लाउडलगायत एआई उपकरणको प्रभावकारी प्रयोग गर्न सिकाइनेछ। त्यस्तै, एआईसँग सही र उपयोगी नतिजा प्राप्त गर्न आवश्यक निर्देशन (प्रम्प्ट) लेख्ने तरिका, इमेल तथा कागजात तयार गर्ने, बैठकका निर्णय लेख्ने र आकर्षक प्रस्तुतीकरण बनाउने सीप पनि सिकाइनेछ।

यसका साथै एआईको प्रयोगबाट तस्बिर तथा छोटा भिडियो निर्माण गर्ने, एआईले दिएको सूचनाको सत्यता जाँच गर्ने र यसको सुरक्षित तथा जिम्मेवार प्रयोगबारे समेत प्रशिक्षण दिइनेछ।

तालिममा सहभागी हुन इच्छुकले कात्तिक १७ गते मंगलबार दिउँसो ३ बजेसम्म श्रम संसार पोर्टलमार्फत आवेदन दिन सक्नेछन्। पहिलो चरणमा सफलतापूर्वक आवेदन दिइसकेका व्यक्तिले पुनः आवेदन दिनुपर्ने छैन। छनोट भएका सहभागीलाई एसएमएसमार्फत जानकारी गराइने प्रतिष्ठानले जनाएको छ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले एआईसम्बन्धी ज्ञान र सीप केही व्यक्तिमा मात्र सीमित हुन नहुने बताएका छन्। आगामी दिनमा अनलाइन तथा प्रत्यक्ष दुवै माध्यमबाट थप उन्नतस्तरका तालिम सञ्चालन गरी देशभरका युवालाई प्रविधिमा दक्ष बनाउने सरकारको योजना रहेको उनले बताएका छन्।

आवेदन लिंक : https://shramsansar.gov.np/prompt-training-form

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP