अब त्रिभुवन विश्वविद्यालयका शैक्षिक प्रमाणपत्र घरमै पुग्ने

अब त्रिभुवन विश्वविद्यालयका शैक्षिक प्रमाणपत्र घरमै पुग्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट शैक्षिक प्रमाणपत्र लिन विश्वविद्यालय धाउनुपर्ने झन्झट हट्ने भएको छ। विश्वविद्यालयले अब विद्यार्थीका शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजात हुलाक सेवामार्फत सिधै घरको ठेगानामा पुर्‍याउने व्यवस्था गरेको छ।

यसका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारको हुलाक सेवा विभागबीच सम्झौता भएको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि रजिस्ट्रारको कार्यालयमा आयोजित कार्यक्रममा दुवै पक्षबीच २२ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो।

सम्झौतापत्रमा त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार विश्वविद्यालयका विभिन्न निकायबाट जारी हुने शैक्षिक प्रमाणपत्र विद्यार्थीको सम्पर्क नम्बर र पूर्ण ठेगानाका आधारमा हुलाकमार्फत पठाइनेछ।

कागजात सुरक्षित रूपमा सम्बन्धित विद्यार्थीसमक्ष पुर्‍याउन हुलाक सेवाको पोस्टल ट्र्याकिङ सिस्टम प्रयोग गरिनेछ। त्यसका लागि प्रत्येक हुलाक वस्तुमा ट्र्याकिङ बारकोड राखेर दर्ता गरिने व्यवस्था गरिएको छ।

त्रिविका रजिस्ट्रार शिवाकोटीले विश्वविद्यालयका प्रशासनिक सेवालाई विद्यार्थीको घरदैलोसम्म पुर्‍याउने उद्देश्यले हुलाक सेवासँग सहकार्य गरिएको बताएका छन्।

यस व्यवस्थाले प्रमाणपत्र लिन काठमाडौं तथा विश्वविद्यालयका कार्यालयसम्म धाउनुपर्ने विद्यार्थीको समय र खर्च बचत हुने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP