टिकटक र फेसबुकमा लोभलाग्दो विज्ञापन देखाएर लाखौँ ठगी

टिकटक र फेसबुकमा लोभलाग्दो विज्ञापन देखाएर लाखौँ ठगी

काठमाडौँ । सामाजिक सञ्जालमा युरोपका विभिन्न देशमा आकर्षक तलबसहित रोजगारी दिलाइदिने भन्दै गरिने विज्ञापनको आडमा नेपाली युवामाथि ठगी बढेको छ। टिकटक, फेसबुक र इन्स्टाग्राममा 'दुई लाखमै युरोपको भिसा', 'महिनाकै १० लाख कमाइ' जस्ता प्रलोभन देखाएर बेरोजगार युवालाई ठगी गर्ने गिरोह सक्रिय भएका छन्।

पछिल्लो समय वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरूले बेलायत, माल्टा, यूएई र सिंगापुर पठाइदिने भन्दै पीडितबाट लाखौँ रुपैयाँ असुलेका थिए। उनीहरूले एक जनाबाट २ लाखदेखि १५ लाख ५० हजार रुपैयाँसम्म लिएको प्रारम्भिक विवरण छ।

वैदेशिक रोजगार विभागका अनुसार सामाजिक सञ्जालमार्फत भ्रामक विज्ञापन गर्ने व्यक्ति तथा पेजमाथि निगरानी बढाइएको छ। विभागले नेपाल प्रहरीको साइबर ब्युरोसँग समन्वय गरी त्यस्ता विज्ञापन र अकाउन्ट निष्क्रिय बनाउने प्रक्रिया अघि बढाएको जनाएको छ। विभागमा वैदेशिक रोजगार ठगीसम्बन्धी २८ हजारभन्दा बढी उजुरी रहेको बताइएको छ।

विशेषगरी बेलायतको विद्यार्थी भिसा प्रयोग गरेर युरोपका अन्य देशमा रोजगारीका लागि पुग्न सकिने भन्दै युवालाई प्रलोभनमा पार्ने क्रम बढेको छ। सुरुमा थोरै रकम माग्ने एजेन्टहरूले पछि मेडिकल, भिसा प्रक्रिया, कागजात र टिकटको बहानामा थप रकम असुल्ने गरेका छन्।

विभागले विदेश जानुअघि म्यानपावर कम्पनी वा सम्बन्धित व्यक्तिले सरकारी इजाजत लिएको छ कि छैन भन्ने जाँच गर्न आग्रह गरेको छ। सामाजिक सञ्जालमा देखिने ग्यारेन्टी भिसा, सस्तो प्याकेज र अस्वाभाविक रूपमा उच्च तलबका विज्ञापनमा विश्वास नगर्न तथा कुनै पनि रकम बुझाउनुअघि आधिकारिकता यकिन गर्न विभागले सर्वसाधारणलाई सचेत गराएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP