कुकुर तिहारको उत्कृष्ट रील बनाउनेलाई एक लाख रुपैयाँ पुरस्कार

कुकुर तिहारको उत्कृष्ट रील बनाउनेलाई एक लाख रुपैयाँ पुरस्कार

काठमाडौँ । कुकुर तिहारको महत्व, कुकुरप्रतिको माया र मानिससँगको आत्मीय सम्बन्धलाई विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्डले पहिलोपटक 'कुकुर तिहार रील प्रतियोगिता-२०८२' आयोजना गर्ने भएको छ। प्रतियोगितामा उत्कृष्ट रील बनाउनेलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अवधारणाअनुसार आयोजना हुन लागेको प्रतियोगितामार्फत नेपालको मौलिक संस्कृति र परम्परालाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। कुकुर तिहारमा कुकुरको पूजा गर्ने नेपाली परम्परा र मानिस तथा कुकुरबीचको निःस्वार्थ प्रेमलाई भिडियोमार्फत प्रस्तुत गर्न सहभागीलाई आह्वान गरिएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले कुकुर तिहारसँग सम्बन्धित मौलिक तथा सिर्जनात्मक भिडियो रील तयार गरी आफ्नो फेसबुक वा इन्स्टाग्राममा पोस्ट गर्नुपर्नेछ। रीलमा अंग्रेजी भाषाको भ्वाइसओभर वा अंग्रेजी सबटाइटल अनिवार्य गरिएको छ।

भिडियो पोस्ट गर्दा #NepalTourism र #KukurTihar ह्यासट्याग प्रयोग गर्नुपर्नेछ। इन्स्टाग्राममा पोस्ट गर्नेले @nepaltourism लाई तथा फेसबुकमा पोस्ट गर्नेले नेपाल पर्यटन बोर्डको आधिकारिक पेजलाई ट्याग गर्नुपर्नेछ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोको डाउनलोड गर्न मिल्ने गुगल ड्राइभ लिंक photonepa@ntb.org.np मा इमेलमार्फत पठाउनुपर्नेछ। प्रतियोगितामा सहभागी हुन भिडियो पठाउने अन्तिम मिति सन् २०२६ नोभेम्बर २१ तोकिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP