बच्चाले ओछ्यान भिजाएपछि डस्नाबाट पिसाबको दाग र गन्ध कसरी हटाउने ?

बच्चाले ओछ्यान भिजाएपछि डस्नाबाट पिसाबको दाग र गन्ध कसरी हटाउने ?

सानो बच्चा भएको घरमा ओछ्यान भिज्नु सामान्य कुरा हो। विशेषगरी राति निद्रामै पिसाब गर्ने बानी भएका बालबालिकाले कहिलेकाहीँ ओछ्यान भिजाउन सक्छन्। तन्ना फेर्न सजिलो भए पनि डस्नामा पिसाब सोसिएपछि दाग र दुर्गन्ध हटाउन भने समस्या हुन सक्छ।

पिसाब परेको थाहा पाउनेबित्तिकै तन्ना र अन्य कपडा हटाएर सफा, सुक्खा कपडा वा पेपर टावलले डस्नामा परेको पिसाब सोस्नुपर्छ। दाग भएको ठाउँ जोडले रगड्नु हुँदैन। यसो गर्दा पिसाब डस्नाको भित्री भागसम्म फैलिन सक्छ। त्यसैले हल्का थिचेर तरल पदार्थ सोस्नु राम्रो हुन्छ।

घरमै यसरी सफा गर्न सकिन्छ

डस्नाको दाग हटाउन पानी, सेतो सिरका, हल्का डिटर्जेन्ट र बेकिङ सोडा प्रयोग गर्न सकिन्छ। पानी र सेतो सिरका बराबर मात्रामा मिसाएर त्यसमा थोरै हल्का डिटर्जेन्ट थप्न सकिन्छ। उक्त घोल दाग भएको ठाउँमा थोरै मात्रामा छर्केर १०-१५ मिनेट छाड्नुपर्छ।

त्यसपछि सफा र सुक्खा कपडाले हल्का थिच्दै घोल र बाँकी चिस्यान सोस्नुपर्छ। डस्ना धेरै भिज्ने गरी पानी वा घोल प्रयोग गर्नु हुँदैन।

दुर्गन्ध हटाउन बेकिङ सोडा

सफाइपछि पनि पिसाबको गन्ध बाँकी रहेमा दाग भएको ठाउँमा बेकिङ सोडा छर्केर केही घण्टा राख्न सकिन्छ। यसले बाँकी चिस्यान सोस्न र दुर्गन्ध कम गर्न मद्दत गर्छ। करिब ७–८ घण्टापछि भ्याकुम क्लिनर वा सफा ब्रसले बेकिङ सोडा हटाउन सकिन्छ।

त्यसपछि डस्नालाई हावा लाग्ने ठाउँमा राखेर पूर्ण रूपमा सुकाउनुपर्छ। नसुकी तन्ना बिछ्याउँदा भित्र चिस्यान रहन सक्छ, जसले दुर्गन्ध र ढुसीको समस्या निम्त्याउन सक्छ।

पुरानो दाग हटाउन के गर्ने ?

पिसाबको दाग पुरानो भइसकेको छ भने एकपटक सफा गर्दैमा पूर्ण रूपमा नहट्न सक्छ। यस्तो अवस्थामा सफाइ प्रक्रिया दोहोर्‍याउनुपर्ने हुन सक्छ। डस्नाको कपडा र बनावटअनुसार सफाइको तरिका फरक हुने भएकाले कुनै पनि घोल प्रयोग गर्नुअघि सानो नदेखिने भागमा परीक्षण गर्नु राम्रो हुन्छ।

कुकुर वा बिरालोले डस्नामा पिसाब गरेको अवस्थामा भने बजारमा पाइने एन्जाइम क्लिनर उपयोगी हुन सक्छ। यसले पिसाबका जैविक अवशेष हटाउन र गन्ध कम गर्न मद्दत गर्छ। प्रयोग गर्दा उत्पादनमा दिइएको निर्देशन पालना गर्नुपर्छ।

ओछ्यान भिज्न नदिन अपनाउनुस् सावधानी

डस्ना सफा गर्नुभन्दा पिसाब भित्रसम्म पुग्न नदिनु सजिलो हुन्छ। त्यसका लागि वाटरप्रुफ म्याट्रेस प्रोटेक्टर प्रयोग गर्न सकिन्छ। यसले डस्नालाई पिसाब र अन्य तरल पदार्थबाट जोगाउँछ।

बच्चाले कहिलेकाहीँ निद्रामै ओछ्यान भिजाउँदा गाली वा लज्जित गराउनु हुँदैन। सहज वातावरण बनाउँदै सरसफाइमा ध्यान दिनु र आवश्यक परे बिस्तारै बानी सुधार्न सहयोग गर्नु राम्रो हुन्छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP