दुई महिनादेखि काठमाडौंमा बाढीपीडित, तिहारपछि गाउँ फर्किने तयारी

दुई महिनादेखि काठमाडौंमा बाढीपीडित, तिहारपछि गाउँ फर्किने तयारी

काठमाडौं । भोटेकोशी बाढीपहिरोका कारण विस्थापित रसुवाको टिमुरेका बासिन्दा दुई महिनादेखि काठमाडौंमा अस्थायी आश्रय लिएर बसिरहेका छन् । सरकारले स्थायी पुनर्स्थापनाको ठोस योजना नल्याएपछि उनीहरू तिहारपछि आफ्नै गाउँ फर्किने तयारीमा जुटेका छन् ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरेका बाढीपीडित अहिले काठमाडौंको स्वयम्भुस्थित मुस्ताङ गुम्बामा आश्रित छन् । घरजग्गा बाढीपहिरोले बगाएपछि उनीहरू अन्योलपूर्ण अवस्थामा दिन बिताइरहेका छन् ।

टिमुरेकी लाङराङ तामाङ दुई महिनादेखि गुम्बामा बस्दै आएकी छन् । श्रीमान् अलग्गै बस्ने र छोरीको विवाह भइसकेकाले उनी अहिले एक्लै छिन् । बाढीले घरजग्गासमेत बगाएपछि बाँकी जीवन कसरी बिताउने भन्ने चिन्ताले उनलाई सताएको छ ।

'टिमुरेमा जग्गाजमिन केही छैन, घर पनि छैन । अलिअलि भएको पनि बाढीपहिरोले लग्यो,' उनले भनिन्, 'सरकारले पनि हेरेको छैन । संस्थाले हेरेको छ, खुवाएको छ ।'

पीडित कामी नुर्बु तामाङले सरकारले पुनर्स्थापनाबारे कुनै स्पष्ट जानकारी नदिएको गुनासो गरे । लामो समय अस्थायी आश्रयस्थलमा बस्न सम्भव नभएकाले तिहारपछि गाउँ फर्किने तयारी गरेको उनले बताए ।

उनका अनुसार टिमुरेमाथिको सुरक्षित डाँडामा नयाँ बस्ती बसाउने योजना छ । त्यसका लागि सरकारले खाद्यान्न, अस्थायी टहरा र आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

अर्की पीडित पासाङ तामाङले पनि गाउँ फर्कने वातावरण बनाउन सरकारसँग आग्रह गरिन् । गाउँसम्म पुग्ने बाटो निर्माण नहुँदासम्म सबै विस्थापितलाई एकै ठाउँमा बस्ने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ ।

भदौ १० गते आएको बाढीको त्रासदी अझै पीडितको मनमा ताजै छ । बाढी आएपछि ज्यान जोगाउन डाँडातर्फ उक्लिएका उनीहरू उद्धारको प्रतीक्षामा गाउँमै रात बिताउन बाध्य भएका थिए । भोलिपल्ट हेलिकप्टरबाट उद्धार गरी धुन्चे पुर्‍याइएपछि स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको थियो ।

सरकारले बाढीपीडितलाई अस्थायी आवासका लागि मासिक १५ हजार रुपैयाँ दिने निर्णय गरे पनि उक्त रकम काठमाडौंमा बस्न पर्याप्त नभएको उनीहरूको गुनासो छ । घरभाडा, खाद्यान्न र बालबालिकाको पढाइ खर्च धान्न मुस्किल भइरहेको पीडित पेम्बा जाङ्मु घलेले बताइन् ।

‘१५ हजारले घरभाडा तिर्ने कि रासन किन्ने, कि बच्चाहरूको पढाइ खर्च धान्ने ?’ उनले प्रश्न गरिन् ।

उनले आर्थिक सहयोगभन्दा पनि गाउँ फर्किएर बस्न सक्ने वातावरण बनाइदिन सरकारसँग आग्रह गरिन् । आवश्यक व्यवस्था भए गाउँमै फर्किएर सामान्य जीवन सुरु गर्न आफूहरू तयार रहेको उनको भनाइ छ ।

गुम्बामा ४११ जना बाढीपीडित आश्रित

हाल स्वयम्भुस्थित मुस्ताङ गुम्बामा ४११ जना बाढीपीडित आश्रित छन् । तीमध्ये २०७ जना पुरुष, २०४ जना महिला, १७१ जना बालबालिका र ८० जना ज्येष्ठ नागरिक रहेका छन् ।

पीडितहरूका अनुसार अब उनीहरूको मुख्य आवश्यकता सुरक्षित बासस्थान, सडक पहुँच, खाद्यान्न तथा बालबालिकाको शिक्षा र स्वास्थ्यको सुनिश्चितता हो । राहतमा मात्रै निर्भर रहनुभन्दा आफ्नै थातथलो फर्किएर जीवन पुनः सुरु गर्ने चाहना उनीहरूले व्यक्त गरेका छन् ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP