नेपाल-जापान सम्बन्ध थप बलियो बनाउन शिक्षा र प्रविधिमा सहकार्य गर्नुपर्ने परराष्ट्रमन्त्रीको जोड

नेपाल-जापान सम्बन्ध थप बलियो बनाउन शिक्षा र प्रविधिमा सहकार्य गर्नुपर्ने परराष्ट्रमन्त्रीको जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले शिक्षा, प्रविधि, नवप्रवर्तन र जनस्तरको सम्बन्धले नेपाल र जापानबीचको ऐतिहासिक मित्रतालाई थप सुदृढ बनाएको बताएका छन्।

साउथ एसिया फेडेरेसन अफ जापनिज युनिभर्सिटी अल्मुनाई एसोसिएसन (साफजुआ) द्वारा आयोजित 'साफजुआ सिम्पोजियम २०२६' को उद्घाटन गर्दै मन्त्री खनालले शिक्षामार्फत स्थापित सम्बन्ध दुई देशबीचको दिगो र भरपर्दो आधार भएको बताए। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगे पनि आपसी सम्बन्धको इतिहास त्योभन्दा पुरानो रहेको उनले उल्लेख गरे।

उनका अनुसार सन् १८९९ मा जापानी बौद्ध भिक्षु एकाइ कावागुची नेपाल आएका थिए भने सन् १९०० को प्रारम्भमै आठ जना नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान पुगेका थिए। यही ऐतिहासिक सम्बन्धले सन् १९५६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको आधार तयार गरेको उनको भनाइ थियो।

मन्त्री खनालले नेपालको पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासमा जापानले पुर्‍याएको योगदानको प्रशंसा गरे। हाल जापानमा तीन लाखभन्दा बढी नेपाली बसोबास गरिरहेको र त्यहाँ अध्ययनरत विदेशी विद्यार्थीतर्फ नेपाली विद्यार्थी दोस्रो ठूलो समूहमा रहेको तथ्यले दुई देशबीचको जनस्तरको सम्बन्ध प्रगाढ रहेको उनले बताए।

उनले आगामी दिनमा कृत्रिम बौद्धिकता (एआई), नवीकरणीय ऊर्जा र आधुनिक इन्जिनियरिङजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए। विश्वविद्यालय, नीतिनिर्माता र निजी क्षेत्रबीच सहकार्य बढाउँदै शिक्षा, अनुसन्धान र नवप्रवर्तनमा लगानी केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP