चिसो रातमा नेपथ्यको सांगीतिक ताप, तीन घण्टा झुमे १० हजार दर्शक

चिसो रातमा नेपथ्यको सांगीतिक ताप, तीन घण्टा झुमे १० हजार दर्शक

इटहरी । चिसो मौसमको प्रवाह नगरी बुधबार साँझ इटहरी रंगशालामा हजारौँ दर्शक नेपाली सांगीतिक ब्यान्ड नेपथ्यको गीतमा झुमे। नेपथ्यले पहिलोपटक इटहरीमा दिएको प्रत्यक्ष प्रस्तुतिमा करिब १० हजार दर्शक सहभागी भएका थिए।

'नेपथ्य लाइभ इन कन्सर्ट-२०२६' नाम दिइएको कार्यक्रममा आयोजक पूर्वाञ्चल इभेन्ट्स प्रालिका अनुसार ८ हजार ५०० टिकट बिक्री भएको थियो भने थप १ हजार ५०० पास वितरण गरिएको थियो। टिकट सकिएपछि पनि कन्सर्ट हेर्न रंगशाला पुगेका केही दर्शक भने निराश भएर फर्किएका थिए।

साँझ करिब ६ बजे मञ्चमा उक्लिएका मुख्य गायक अमृत गुरुङले 'नमस्ते इटहरी, नमस्ते कोशी प्रदेश' भन्दै दर्शकलाई अभिवादन गरेका थिए। 'हो रामा रामा' गीतबाट सुरु भएको प्रस्तुति करिब तीन घण्टासम्म चलेको थियो। कार्यक्रममा 'भेडाको ऊन', 'छेक्यो छेक्यो', 'लामपाते सुरती', 'चरी मर्‍यो', 'सुन सुन साइँली', 'कर्णाली', 'पोखरा बजार', 'रेशम', 'तालको पानी' र 'रातो र चन्द्रसुर्जे' लगायतका लोकप्रिय गीत प्रस्तुत गरिएका थिए।

कन्सर्टमा युवायुवतीसँगै बालबालिका र वृद्धवृद्धाको समेत उल्लेख्य सहभागिता थियो। सुनसरी, मोरङ, झापा, धनकुटा र इलामलगायत पूर्वी नेपालका विभिन्न जिल्लाबाट दर्शक आएका थिए। आयोजकका अनुसार भारतको सिक्किम र दार्जिलिङबाट समेत नेपाली संगीतका पारखी सहभागी भएका थिए।

गीतका बीचमा अमृत गुरुङले युवालाई जीवन सकारात्मक काममा लगाउन, धूम्रपान तथा अन्य दुर्व्यसनबाट टाढा रहन, दुःखी र असहायलाई सहयोग गर्न तथा देश घुमेर आफ्नो माटो चिन्न आग्रह गरेका थिए। ‘देश हामीले नै बनाउनुपर्छ’ भन्ने सन्देश दिँदै उनले नेपाली संगीतलाई माया गर्न र आपसी एकता कायम राख्न पनि आह्वान गरेका थिए।

मञ्चमा अमृतलाई ध्रुव लामा, सुबिन शाक्य, नीरज गुरुङ, शान्ति रायमाझी र दिनेशराज रेग्मीले वाद्यवादनमा साथ दिएका थिए। पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजनामा भएको कार्यक्रम इटहरी उपमहानगरपालिकाको संरक्षण तथा कोशी प्रदेश सरकारको प्रवर्द्धनमा सम्पन्न भएको हो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मियामी विमानस्थलमा यात्रुवाहक र कार्गो विमान ठोक्किए, दुई यात्रु घाइते
10 घण्टा अगाडि

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...

छुटाउनुभयो कि ?

TOP