चर्चामा
काठमाडौं । बढ्दो महँगी, महँगो घरभाडा र आधारभूत आवश्यकताको मूल्यवृद्धिविरुद्ध युरोपका सात देशका श्रमिक संगठन तथा आवास अधिकारसम्बन्धी समूहले संयुक्त प्रदर्शनको आह्वान गरेका छन्। फ्रान्स, बेलायत, बेल्जियम, स्पेन, इटाली, पोर्चुगल र ग्रिसका संगठनले नोभेम्बर २०, २१ र २२ मा विभिन्न सहरमा समन्वयात्मक प्रदर्शन गर्ने घोषणा गरेका हुन्।
नोभेम्बर ३ मा पेरिसमा भएको बैठकपछि संगठनहरूले संयुक्त आन्दोलनको घोषणा गरेका हुन्। उनीहरूले बढ्दो जीवनयापन खर्चका कारण सर्वसाधारणको दैनिक जीवन कठिन बन्दै गएको र विशेषगरी आवास, खाद्यान्न तथा यातायातको खर्च धान्न समस्या भइरहेको बताएका छन्।
प्रदर्शनकारीका प्रमुख मागमा घरभाडा तथा आवासको मूल्य नियन्त्रण, खाद्यान्न र ऊर्जाको मूल्य घटाउने उपाय, तलब तथा पेन्सन वृद्धि र गुणस्तरीय सार्वजनिक सेवा सुनिश्चित गर्नुपर्ने विषय छन्। उनीहरूले शिक्षा र स्वास्थ्य सेवामा सबैको पहुँच हुनुपर्ने तथा सार्वजनिक आवासको व्यवस्था गर्न पनि माग गरेका छन्।
संगठनहरूले बढ्दो सैन्य खर्च र हतियारको होड रोक्नुपर्ने तथा जीवाश्म इन्धनमा निर्भरता घटाउनुपर्ने मागसमेत अघि सारेका छन्। उनीहरूका अनुसार सरकारहरूले सर्वसाधारणको जीवनयापन सहज बनाउने नीतिलाई प्राथमिकता दिनुपर्छ।
फ्रान्समा विद्यार्थी, श्रमिक संगठन र ‘येलो भेस्ट’ आन्दोलनका प्रतिनिधिहरू पनि यस अभियानमा सहभागी छन्। बेलायतबाट लन्डन र ग्रेटर म्यानचेस्टरका भाडावाल अधिकारसम्बन्धी संगठनहरू सहभागी भएका छन्।
युरोपका विभिन्न देशमा यसअघि पनि महँगी, आवास संकट र तलब वृद्धिको माग गर्दै प्रदर्शन हुँदै आएका छन्। पछिल्लो संयुक्त आह्वानले यी मुद्दालाई सीमापार साझा आन्दोलनका रूपमा अघि बढाउने प्रयास गरेको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!