प्लास्टिक र फोहोर नजलाउन काठमाडौं महानगरको आग्रह, प्रदूषण बढ्ने जोखिम

प्लास्टिक र फोहोर नजलाउन काठमाडौं महानगरको आग्रह, प्रदूषण बढ्ने जोखिम

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिक तथा अन्य फोहोर नजलाउन नागरिकलाई आग्रह गरेको छ। जाडो मौसम सुरु भएसँगै वायु प्रदूषण बढ्ने जोखिम रहेकाले फोहोर जलाउने गतिविधि रोक्न महानगरले अनुरोध गरेको हो।

महानगरका अनुसार प्लास्टिक, रबर, टायर तथा अन्य फोहोर जलाउँदा निस्कने धुवाँमा मानव स्वास्थ्यलाई हानि पुर्‍याउने विषाक्त पदार्थ हुन्छन्। यस्तो धुवाँले आँखा, नाक र घाँटीमा समस्या निम्त्याउनुका साथै श्वासप्रश्वास तथा मुटुसम्बन्धी रोगको जोखिम बढाउन सक्छ।

विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला र दीर्घरोगीहरू वायु प्रदूषणबाट बढी प्रभावित हुन सक्छन्। जाडोयाममा हावाको आवागमन कम हुँदा प्रदूषित हावा जमिनको नजिकै थुप्रिने भएकाले समस्या थप गम्भीर बन्न सक्छ।

महानगरले घर, पसल तथा सार्वजनिक स्थानमा फोहोर जलाउनुको सट्टा छुट्याएर संकलन गर्न र तोकिएको फोहोर व्यवस्थापन प्रणालीमार्फत विसर्जन गर्न आग्रह गरेको छ।

वायु प्रदूषण नियन्त्रणका लागि महानगरले नागरिकको सहयोग आवश्यक रहेको जनाउँदै फोहोर नजलाउन र वातावरण स्वच्छ राख्ने कार्यमा सहभागी हुन अनुरोध गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP