आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्च पुगे, पुनर्बहालीको माग

आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्च पुगे, पुनर्बहालीको माग

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन्। आफूलाई पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै उनले रिट निवेदन पेस गरेका हुन्।

कार्कीका तर्फबाट अधिवक्ता टीकाबहादुर कुँवर बिहीबार सर्वोच्च अदालत पुगेका हुन्। कार्कीले आफ्नो बाँकी कार्यकाल रहँदै आफूलाई आईजीपीबाट हटाइएको भन्दै कानुनी चुनौती दिएका छन्।

उनले आफूलाई पदबाट हटाउनुअघि स्पष्टीकरण सोध्ने र आफ्नो कुरा राख्ने अवसरसमेत नदिइएको दाबी गरेका छन्। सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्न पनि माग गरिएको छ।

सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो। उनको ठाउँमा एआईजी डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो। केसीले बुधबार नै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्।

कार्कीले पेस गरेको रिटको दर्ता तथा त्यसपछिको सुनुवाइ प्रक्रिया सर्वोच्च अदालतबाट अघि बढ्नेछ। अदालतले सरकारको निर्णय र कार्कीको मागबारे गर्ने निर्णयले प्रहरी नेतृत्व परिवर्तनसम्बन्धी विवादको कानुनी टुंगो लगाउनेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP