जलवायु संकटको जोखिममा ९ करोड विस्थापित, राष्ट्रसंघको गम्भीर चेतावनी

जलवायु संकटको जोखिममा ९ करोड विस्थापित, राष्ट्रसंघको गम्भीर चेतावनी

काठमाडौ ।जलवायु परिवर्तनका कारण विश्वभरका झण्डै ९ करोड विस्थापित मानिसहरू गम्भीर जोखिममा रहेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार विश्वका जबर्जस्ती विस्थापित मानिसहरूमध्ये करिब तीन चौथाइ जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशहरूमा बसोबास गरिरहेका छन्।

अफगानिस्तान र बंगलादेशलगायतका देशमा रहेका विस्थापित नागरिक खडेरी, बाढी तथा अत्यधिक गर्मीको प्रत्यक्ष जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ।

जलवायु परिवर्तनका कारण सुरक्षित पानीको अभाव, खाद्य संकट र अत्यधिक तापक्रमले शरणार्थीहरूको जीवन थप कष्टकर बनाइरहेको राष्ट्रसंघले जनाएको छ।

प्रतिवेदनअनुसार सन् २०२६ को पहिलो ६ महिनामा आफ्नो देश फर्किएका दुई तिहाइभन्दा बढी शरणार्थी पुनः जलवायु जोखिममा रहेका देशमा पुगेका छन्। यसले उनीहरू फेरि विस्थापित हुनुपर्ने खतरा बढाएको छ।

त्यस्तै, सन् २०५० सम्ममा उपसहारा अफ्रिकाका प्रत्येक तीनमध्ये एक शरणार्थी शिविरमा वर्षको कम्तीमा १०० दिनसम्म खतरनाक गर्मी हुन सक्ने अनुमान गरिएको छ।
पूर्वी अफ्रिकामा यस वर्षको अन्त्यसम्म बाढीका कारण सोमालिया, केन्या, दक्षिण सुडान र युगान्डाका ३० लाखसम्म मानिस विस्थापित हुन सक्ने राष्ट्रसंघको आकलन छ।

जलवायु परिवर्तनबाट प्रभावित तथा द्वन्द्वग्रस्त क्षेत्रमा पर्याप्त आर्थिक सहायता नपुगेको भन्दै राष्ट्रसंघले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु अनुकूलनका लागि लगानी बढाउन आग्रह गरेको छ।

आगामी नोभेम्बर ९ देखि टर्कीको अन्टाल्यामा सुरु हुने जलवायु सम्मेलनमा पनि विस्थापित समुदायको संरक्षण र जलवायु वित्तको विषयलाई प्राथमिकता दिन राष्ट्रसंघले आग्रह गर्ने भएको छ। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP